काठमाडौं । प्रभु मेनेजमेन्टले मेनेजमेन्टको भुक्तानी गर्न बाँकी रहेको नगद तथा जिन्सी समानको बुझ बुझारथ गर्न प्रभु समूहका अध्यक्ष एवम् नेकपा एमालेका सांसद समेत रहेका देवी प्रकाश भट्टचनका नाममा सूचना जारी गरेको छ । मंगलबार सार्वजनिक रुपमा नै सूचना जारी गरी गर्दै मेनेजमेन्टले १५ दिनको अवधि दिएर मेनेजमेन्टको सञ्चालक समिति सदस्य रहँदाको अवस्थामा आफनो जिम्मेवारीको सम्पूर्ण हरहिसाब चुक्ता गर्न सूचना जारी गरेको हो ।
मेनेजमेन्टले भट्टचन लगायत विनोद थकाली, मिजास भट्टचन, शिक्षा भट्टचन, ध्रुवचन्द्र धिताल र दक्ष पौडेल (सुभाष) को नाममा पनि सूचना जारी गरेको छ । तोकिएको अवधि भित्र भुक्तानी नगरेमा कम्पनीको तर्फबाट कानुन बमोजिम गरी असुल उपर गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।
मेनेजमेन्टका अनुसार देवीप्रकाश भट्टचन कम्पनीमा २०६९ जेठ २१ देखि २०७१ पुस १२ सम्मको मेनेजमेन्टको सञ्चालक समितिका थिए । विनोद थकाली २०६९ जेठ २१ देखि २०७० माघ २० गतेसम्म सञ्चालक समितिका थिए । मिजास भट्टचन २०७१ पुस १३ देखि २०७४ जेठ १० गतेसम्म, शिक्षा भट्टचन २०७४ जेठ ११ गते देखि २०७७ असार १५ गतेसम्म, ध्रुवचन्द्र धिताल २०७२ पुस २२ गते देखि २०७७ असार १५ गतेसम्म र दक्ष पौडेल (सुभाष) २०६९ जेठ २१ देखि २०७८ साउन २८ गतेसम्म प्रभु मेनेजमेन्टको सञ्चालक समितिमा थिए ।
यस्तै, कुसुम लामाले प्रभु टेक्नोलोजीको पनि रकम भुक्तानी गर्न देवी प्रकाश भट्टचन र मिजास भट्टचनको नाममा सूचना जारी गरेकी छिन् । कम्पनीको शेयर प्रभु मेनेजमेन्टको नाममा हस्तान्तरण गरी जानु अघि आफनो जिम्मेवारीमा रहेको कम्पनीको चल अचल जायजेथा, कम्पनी सम्बन्ध जिन्सी समान ऋणधन समेतको विषयमा कम्पनीलाई बुझ बुझारथ गर्न भन्दै सूचना जारी गरिएको छ । ‘पटक पटक ताकेता गरेकोमा हालसम्म कुनै जवाफ नदिएकाले बुझ बुझारथ गर्नु अन्यथा कम्पनीको तर्फबाट कानून बमोजिम दाबी गरिने व्यहोरा सहित अन्तिम पटक सूचित गरिएको छ,’ सूचनामा लेखिएको छ ।
किन निकालिन् लामाले १५ दिने सूचना ?
देवी प्रकाश भट्टचन अध्यक्ष रहेको प्रभु समूहले २०५८ साल देखि प्रभु मनी ट्रान्सफर सेवा सञ्चालन गरेको हो । प्रभु मनी ट्रान्सफरले सब एजेण्टको रुपमा नेपालभर रहेका सहकारीलाई जोड्न थाल्यो । ट्रान्सफरले सिधै सहकारीसँग डिल गर्न झन्झटिलो हुने भन्दै मध्यस्थताका लागि २०६९ मंसिर १५ गते प्रभु मेनेजमेन्ट कम्पनी स्थापना ग¥यो ।
मेनेजमेन्टमा देवी प्रकाश भट्टचनको ५० प्रतिशत शेयर हिस्सा थियो । भट्टचनका ज्वाई विनोद थकालीको २० प्रतिशत, कुसुम लामाको २० प्रतिशत र दक्ष पौडेलको १० प्रतिशत शेयर लगानी थियो । पछि विनोद थकालीको शेयर देवी भट्टचनले ५ प्रतिशत र कुसुम लामाले १५ प्रतिशत लिए । त्यसपछि भट्टचनको शेयर हिस्सा ५५ प्रतिशत भयो भने कुसुम लामाको ३५ प्रतिशत भयो ।
त्यतिबेला दक्ष पौडेले सहकारी बोर्डका अध्यक्ष थिए । उनकै डिजाइनमा सहकारीहरुलाई रेमिट्यान्स भुक्तानीको लागि मेनेजेमेन्टमा जोड्न थालियो । प्रभु मनी ट्रान्सफरको सुपर एजेन्टको रुपमा स्थापना गरिएको मेनेजमेन्टले सहकारीसँग धितो रकम लिएर रेमिट्यान्स भुक्तानीको सेवा दिन थाल्यो ।
सब एजेण्ट बनाउँदा मेनेजमेन्टले प्रति सहकारी एक लाख रुपैयाँ देखी तीन लाख रुपैयाँसम्म धरौटी लिन थाल्यो । त्यस्तै, मेनेजमेन्टले प्रति कारोबार पाँच रुपैयाँ र सहकारीले ७५ रुपैयाँ कमिशन लिन थाले । मेनेजमेन्टले मुलुकभरका चार हजार सहकारीलाई सब एजेण्ट बनाएको छ । कम्पनीले २०८१ जेठ सम्ममा चार हजार ५६९ सहकारीबाट धरौटी रकम जम्मा गरेको छ । जसमध्ये तीन हजार भन्दा बढी सहकारीले ९७ करोड ३७ लाख रुपैयाँ रकम फिर्ता पाएका छैनन् । सहकारीहरुले रकम भुक्तानीको लागि बारम्बार ताकेता गर्न थालेपछि प्रभु मेनेजमेन्टबाट भट्टचन र उनका परिवार विस्तारै बाहिरियो ।
सुरुवातमा कम्पनीको चुक्ता पूँजी एक करोड रुपैयाँ थियो । जसमा देवी प्रकाश भट्टचनको ५० लाख रुपैयाँ बराबरको ५० हजार कित्ता शेयर स्वामित्व थियो । कुसुम लामाको २० लाख रुपैयाँको २० हजार कित्ता शेयर स्वामित्व थियो । विनोद थकालीको २० लाख रुपैयाँ लगानीको २० हजार कित्ता र दक्ष पौडेलको १० लाख रुपैयाँ लगानीको १० हजार कित्ता शेयर थियो ।
२०७१ सालमा वैशाखमा आईपुग्दा कम्पनीको चुक्ता पुँजी पाँच करोड रुपैयाँ पुग्यो । त्यतिबेलासम्म विनोद थकाली आफनो शेयर विक्री गरी कम्पनीबाट बाहिरिएका थिए । विनोद थकाली शेयर खरिद गरेका भट्टचनको शेयर हिस्सा ५५ प्रतिशत, लामाको ३५ प्रतिशत र १० प्रतिशत पाैडेलको थियो । जसअनुसार कम्पनीमा उनको दुई लाख ७५ हजार कित्ता शेयर पुग्यो । लामाको एक लाख ७५ हजार र पौडेलको ५० लाख कित्ता शेयर पुग्यो ।
त्यसपछि विस्तारै भट्टचन कम्पनीबाट बाहिरिन थाले । उनले आफनो नाममा भएको शेयर २०७१ साल पुस १३ मा आफना भतिज मिजास भट्टचनको नाममा ट्रान्सफर गरे । दक्ष पौडेलको ५० हजार कित्ता शेयर शिव शर्मा आचार्यको नाममा ट्रान्सफर गरे । दक्ष भट्टचनका विश्वासपात्र हुन् ।
२०७२ कार्तिक २२ गतेसम्म कम्पनीको चुक्ता पुँजी सात करोड पुग्यो । पुँजी वृद्धि पछि मिजास भट्टचनको नाममा तीन लाख ८५ हजार, लामाको दुई लाख ४५ हजार र शर्माको नाममा ७० हजार कित्ता शेयर स्वामित्व भयो । २०७२ मंसिर १० मा कम्पनीको चुक्ता पुँजी १२ करोड पुग्यो । पुँजी बढेसँगै शेयर हिस्सा पनि बढ्यो । अब भने मिजासको ६ लाख ६० हजार, लामाको चार लाख २० हजार र शर्माको नाममा एक लाख २० हजार कित्ता शेयर पुग्यो ।
२०७२ पुस २२ गते मिजासको नामबाट १२ हजार कित्ता शेयर कर्मचारी ध्रुवचन्द्र धितालको नाममा ट्रान्सफर गरियो । २०७४ जेठ ११ गते मिजासको नाममध्येको ६ लाख ४८ हजार कित्ता शेयर भट्टचनको छोरी शिक्षा भट्टचनको नाममा ट्रान्सफर गरियो । २०७५ फागुन ९ मा फेरी शिव शर्माको नाममा रहेको एक लाख २० हजार कित्ता शेयर दक्ष पौडेल (सुभाष) को नाममा ट्रान्सफर गरियो । २०७७ असार १६ गते शिक्षा भट्टचनको नाममा रहेको सबै शेयर कम्पनी कर्मचारीको नाममा ट्रान्सफर गरियो । जसमध्ये कर्मचारीको श्रृतिका तमाङको नाममा एक लाख ८० हजार, गणेश कुमार घिमिरेको नाममा एक लाख ८ हजार र हेमकुमार महाजुका नाममा एक लाख आठ हजार कित्ता ट्रान्सफर गरियो । ध्रुवचन्द्र धिताको नाममा रहेको १२ हजार कित्ता नारायण ढकालको नाममा सारियो भने दक्ष पौडेललेलाई एक लाख २० हजार कित्ता शेयर सारियो ।
योसँगै भट्टचनले आफनो परिवार सहित कम्पनीबाट बाहिरिए । तर, सहकारीबाट संकलन भएको धितो रकम र भुक्तानी गनुपर्ने दायित्व भने भुक्तानी गरेनन् । भट्टचन कम्पनीबाट बाहिरिए पनि कम्पनीको दायित्व भने भुक्तानी नभएको म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाको आरोप छ । दायित्व सृजना भएको अवधिसम्ममा मेनेजमेन्टमा भएका सञ्चालक पनि उतिकै जिम्मेवार भएको लामा दाबी छ । ‘देवी भट्टचनले आफू सञ्चालक समितिमा हुँदा सृजना भएको दायित्व भुक्तानी गरेकै छैनन् । त्यसैले उनी यो जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ उनले भनिन् ।
रकम भुक्तानीका लागि लामाले केन्द्रीय अनुसन्धान व्यूरो देखि अदालतमा समेत उजुरी दिएकी छिन् । तर, भट्टचनले भने आफू २०७१ सालमा नै कम्पनीबाट बाहिरिएकोले आफनो कुनै दायित्व नभएको दाबी गरेका छन् । ‘कानुनी रुपमा म २०७१ सालमा नै कम्पनीबाट बाहिरिएको छु । म आफू नभएको कम्पनीले गरेको कारोबारको म जिम्मेवार हुँदिन,’ उनले भने ।
चार हजार भन्दा सहकारीको ६ अर्ब रकम भुक्तानी हुन बाँकी
प्रभु मेनेजमेन्ट कम्पनीले करिब चार हजार सहकारीको धरौटी रकम र रेमिट्यान्स भुक्तानी बापतको ६ अर्ब रकम भुक्तानी गरेको छैन । भुक्तानी नपाएको सहकारी विभिन्न निकाय पुगेर हार गुहार गरेका छन् ।
उता प्रभु मेजेनमेन्टकी अध्यक्ष लामाले भट्टचनबाट ठूलो रकम भुक्तानी हुन बाँकी रहेकोले सहकारीको रकम भुक्तानी हुन नपाएको बताउँदै आएकी छिन् । कानुन अनुसार भट्टचन सहकारीको रकम भुक्तानीका लागि जिम्मेवार छैनन् । सहकारी सिधै भट्टचनसँग रकमको लागि दाबी पनि गर्न सक्दैनन् । त्यसैले सबै सहकारीहरुले मेनेजमेन्टसँग रकमको दाबी गरेका छन् । उता लामा भने रकम भुक्तानीका लागि तत्कालीन सञ्चालक समितिका रहेको भट्टचन सहिका उनका परिवारका नाममा सार्वजनिक सूचना जारी गरेकी छिन् ।
पटक पटकको ताकेता पनि भट्टचन र उनका परिवारले रकम भुक्तानी नगरेपछि सार्वजनिक सूचना जारी गरिएको लामाले बताइन् ।
२०७७ सालसम्म मेनेजमेन्टले सहकारीबाट धरौटी बापत एक अर्ब रुपैयाँ संकलन गरेको एक सहकारीका व्यवस्थापकले बताए । धरौटी र रेमिट्यान्स सहित करिब ६ अर्ब कम्पनीले भुक्तानी नगरेको उनले बताए ।
प्रभु म्यानेजम्यान्ट कम्पनी प्रभु मनी ट्रान्सफर कम्पनीको सुपर एजेण्ट हो । प्रभु म्यानेजमेन्टले मुलुकभरका चार हजार भन्दा बढी सहकारीलाई सब एजेण्ट बनाएको छ । सब एजेण्ट बनाए बापत कम्पनीले प्रति सहकारी एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म धरौटी लिएको पाइएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए । त्यस्तै, कम्पनीले सहकारीहरुले सेवाग्राहीलाई भुक्तानी गरेको रेमिट्यान्स रकम फरफारक पनि गरेको छैन । कम्पनीले दुई वर्ष अघि देखि सहकारीहरुको रेमिट्यान्स रकम भुक्तानी नगरेको गुनासो संघमा आइपुगेको उनले बताए । “हामी कहाँ यस्ता उजुरी थुप्रै आएका छन् । कम्पनीले सहकारीहरुको धरौटी रकम मात्रै हैन रेमिट्यान्स सेवाको रकम पनि भुक्तानी गरेको रहेनछ,” उनले भने ।
२०७१ सालसम्म मेनेजमेन्टले ४५० सहकारीबाट ४१ करोड रुपैयाँ धरौटी संकलन गरेको लामाले बताइन् । २०७४ जेठसम्म ६८ करोड धरौटी संकलन गरी सकेको उनको दाबी छ । २०७७ असार सम्म २३ करोड ७३ लाख धरौटी थप संकलन गरेको थियो । २०७७ असारसम्म थप सात करोड ९९ लाख संकलन भएको अध्यक्ष लामाको भनाई छ । स्थापना देखि २०७७ सम्ममा मेनेजमेन्टले सहकारीबाट धरौटी मात्रै कुल ९९ करोड ४७ लाख संकलन गरेको थियो । त्यो अवधिसम्ममा भट्टचन परिवारको शेयर स्वामित्व कायम नै थियो । त्यसैले धरौटी भुक्तानीमा पनि उनको भट्टचन र उनको परिवार जिम्मेवार हुने उनको दाबी छ ।
प्रभु समूहको सहकारी घोटला : करिब ४ हजार सहकारीको ६ अर्ब रकम गायब
प्रभु समूहको घोटाला : पीडित सहकारीको आक्रोश 'ठगिएका हामी हौं, तर सजाय पाउने को ?
मुना कुँवर