शीर्षकहरू

अभिकर्ता र कर्मचारीको आन्दोलन पछि हिमालयन लाइफका सिईओले दिए राजीनामा

अभिकर्ता र कर्मचारीको आन्दोलन पछि हिमालयन लाइफका सिईओले दिए राजीनामा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले राजीनामा दिएका छन् । अभिकर्ता र कर्मचारीकाे आन्दोलन पछि उनले राजीनामा दिएको पेशागत अभिकर्ता संघ नेपाल हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष रेशम गौतमले बताए ।   

गौतमका अनुसार सिईओले राजीनामा दिएको कम्पनी सचिवले औपचारिक जानकारी दिएको बताए । ‘राजीनामा दिई सकेका छन् । पत्र मात्रै आउन बाँकी छ,’ उनले भने । 

कम्पनीका अभिकर्ताले गत बुधबार देखि सिईओको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका थिए । अभिकर्तासँगै कम्पनीका कर्मचारीहरुले सिईओको राजीनामा माग गर्दै सोमबार देखि आन्दोलनमा उत्रिएका थिए । अभिकर्ता र कर्मचारीले कार्यालय परिसरमा धर्ना दिएका थिए । सोमबार उनीहरुले सिईओ सहित कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएका थिए । 

कर्मचारीहरुले सिईओले अभिकर्ता र कर्मचारीहरुमा विभेद गरेको आरोप लगाएका थिए । सिईओ कर्णले आफु निकट अभिकर्ता र कर्मचारीलाई आवश्यक सुविधा दिएको अरुलाई भने आधारभूत सुविधा पनि नदिने गरेको आरोप लगाएका थिए । आन्दोलनरत अभिकर्तासँग वार्ता गरी समस्या समाधान गर्नुभन्दा पनि सिईओले अभिकर्ता भित्र नै गुट बनाई द्वन्द्व गराएको आरोप लगाएका थिए । 

यस्तै, अभिकर्ताहरुले बोनस दर वृद्धि गर्नुपर्ने माग गरेका थिए । अभिकर्ताकहरुले बीमितलाई भुक्तानी गरिने बोनसदर न्यूनतम ५० रुपैयाँ बनाउनु माग गरेका थिए । यस्तै, बीमितको सर्वोपरी हित कायम गर्नुपर्ने, बीमितले पाउने बोनस प्रतिस्पर्धी कम्पनीसँग बराबर गर्नुपर्ने, व्यवस्थापनको लापरवाहीको नियन्त्रण गर्नुपर्ने, बेथितीको अन्त्य गर्नुपर्ने, विभेदकारी नीति अन्त्य गर्नुपर्ने र बीमितको विश्वास माथीको खेलबाड बन्द गर्नुपर्ने माग गरेका थिए । 

यसअघिको युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ मर्जर भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी बनेको हो । कर्ण यसअघि युनियन लाइफ इन्स्योरेन्सको सिईओ थिए ।