शीर्षकहरू

७५ देशका ४५ सय विदेशी 'बिजनेस' भिसामा नेपाल भित्रिए, चिनियाँ धेरै

७५ देशका ४५ सय विदेशी 'बिजनेस' भिसामा नेपाल भित्रिए, चिनियाँ धेरै

काठमाडौं । नेपालमा बिजनेस भिसा लिएर बस्न चाहना राख्ने विद्रोहीहरुको संख्या वृद्धि भएको देखिएको छ । अध्यागमन विभागका अनुसार सन् २०२५ मा नेपालमा बिजनेस भिसा लिने विदेशीको संख्या २०२४ को भन्दा वृद्धि भएको छ । 

पर्यटन बाहेक अन्य भिसामा नेपाल प्रवेश गर्न पाइँदैन । पर्यटनमा नेपाल प्रवेश गरेर अन्य भिसामा भिसा कन्भर्ट गर्ने हो । यसरी नेपालमा पर्यटन भिसामा आएर २०२५ मा ७५ देशका ४ हजार ५२९ जना विदेशी नागरिकले बिजनेस भिसामा कन्भर्ट गरेको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।

उनले आर्थिक न्यूजसँग कुरा गर्दै भने, 'नेपालमा पर्यटन भिसाबाहेक अन्य भिसामा प्रवेश गर्न पाइँदैन । विद्यार्थी होस या व्यवसायी, पर्यटन भिसामा आएर अन्यमा भिसा कन्भर्ट गर्ने हो ।’

उनका अनुसार विगतदेखि बिजनेस भिसा लिनेमा धेरै चिनियाँ नागरिक हुन्छन् । २०२५ मा पनि धेरै चिनियाँ नागरिक छन् । सो वर्ष ६० प्रतिशत बिजनेस भिसा चिनियाँ नागरिकले लिएका छन् । २ हजार ९९३ जना चिनियाँले बिजनेस भिसा लिँदा ३३० जना अमेरिकीले पनि बिजनेस भिसा लिएका हुन् । यसैगरी, बंगलादेशका २५८, दक्षिण कोरियाका २१०, बेलायतका ७२, जापानका ७०, रसीयाका ४४, क्यानडाका ४० र जर्मनका ३८ जना नागरिकले नेपालमा बिजनेस भिसा कन्भर्ट गरेका छन् । 

यसैगरी, फ्रान्स ३५, अस्ट्रेलियाका ३३, ताइवानका २९, मलेसियाका २५, स्पेनका २२, पाकिस्तानका २१, नेदरल्यान्डका २०, स्विट्जरल्यान्डका १७, बेल्जियमका १६, मेक्सिकोका १५, यूक्रेनका १३, दक्षिण अफ्रिकाका १२, न्युजिल्यान्डका ११ र इजरायलका १० जना नागरिकले बिजनेस भिसा लिएका छन् । 

२०२४ को तुलनामा नेपालमा बिजनेस भिसा लिनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको छ । सो वर्ष ३ हजार २१२ जनाले बिजनेस भिसा लिएको सूचना अधिकारी ढकाल बताउँछन् । 

बिजनेस भिसाको प्रक्रिया 

नेपालमा लगानी गर्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि बिजनेस भिसा दिइन्छ । पर्यटनमा आएका उद्योगी तथा व्यवसायीहरूले आवश्यक प्रक्रिया पुरा गरेर बिजनेस भिसामा कन्भर्ट गर्न पाउने कानूनी प्रावधान रहेको छ । 

नेपाल प्रवेश गरेको १५० दिन भित्रै बिजनेस भिसाको लागि आवेदन दिनुपर्ने व्यवस्था छ । 
अध्यागमन नियमावली २०५१ अनुसार एक पटक बिजनेस भिसा लागेपछि त्यसको म्याद ५ वर्षको हुनेछ । तर, उद्योग तथा व्यापारको प्रकृति हेरेर यस सर्तमा केही फेर बदल हुने छ । 
अर्थात् तेस्रो मुलुकबाट नेपालमा आई नेपालमा उत्पादित मालसामान खरिद गरी निकासी गर्ने वा निकासीको लागि खरिद आदेश दिने विदेशीहरूको हकमा एक पटकमा ९० दिनसम्म नेपालमा बस्न पाउने गरी पाँच वर्षे बहु प्रवेशी बिजनेस भिसा दिइने नियमावलीमा उल्लेख छ ।

एक करोड रुपैयाँ र सौ भन्दा कम व्यक्तिगत लगानी गर्ने विदेशी र तिनका आश्रित परिवार वा संस्थाका अधिकृत प्रतिनिधिलाई पहिलो पटक व्यवसायीक भिसा जारी गर्दा १ वर्ष वा सो भन्दा बढि अवधिको सिफारिस प्राप्त भएपनि ६ महिनासम्मको बिजनेस भिसा हुने छ । ६ महिनासम्मको कार्य प्रगति प्राप्त भएपछि आवश्यकता अनुसार निरीक्षण र अनुगमन समेत गरी बाँकी सिफारिश अवधिको भिसा जारी हुनेछ । 

१ करोड भन्दा बढि लगानीका हकमा पहिलो पटक सिफारिसका आधारमा बढीमा १ वर्षसम्मका लागि भिसा जारी हुने र त्यसपछि व्यवसाय पूर्ण संचालनमा आएको वा योजना मुताविकको प्रगति देखाएमा एकै पटक ५ वर्षसम्मको भिसा जारी हुने उल्लेख छ। 

सामान्यतया राहदानीको म्याद १ वर्ष वा सो भन्दा बढी मान्य अवधि भएपनि ५ वर्षको बिजनेस भिसा लिन सकिने व्यवस्था छ । म्याद समाप्त भई अर्को राहदानी प्राप्त गरेपछि भिसा स्थानान्तरण गर्नु पर्ने छ । 

व्यवसायीक भिसा जारी गर्दा आवश्यक पर्ने कागजातहरू

-फोटो टाँस भएको आवेदन फाराम २ प्रति 
-कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता भएको प्रमाणपत्रको छायाँप्रति 
-कर प्रयोजनका लागि अस्थायी र स्थायी लेखा नम्बर दर्ता भएको प्रमाणपत्रको छायाँप्रति 
-व्यवसायीक प्रयोजनका लागि शेयर लगानी गरेको भए शेयर प्रमाणपत्रको छायाँप्रति उद्योग -दर्ता प्रमाणपत्रको छायाँप्रति 
-सम्बन्धित मन्त्रालय र विभागबाट भिसाका लागि गरिएको सिफारिस 
-राहदानी र अन्तिम भिसाको छायाँप्रति 
-आर्थिक स्रोत, योग्यता र अनुभव समेत खुलेको लगानीकर्ताको व्यक्तिगत विवरण ।

nullnullnullnull