शीर्षकहरू

वाणिज्य बैंकहरुको औसत ईपीएस १६.३० रुपैयाँ, नबिल शीर्ष स्थानमा, लक्ष्मी सनराइजको नकारात्मक, कुन बैंकको कति ?

वाणिज्य बैंकहरुको औसत ईपीएस १६.३० रुपैयाँ, नबिल शीर्ष स्थानमा, लक्ष्मी सनराइजको नकारात्मक, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्म आइपुग्दा वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी (ईपीएस) १६.३० रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४.४० रुपैयाँ रहेको औसत ईपीएस करिब १.९० रुपैयाँले बढेको हो।

बैंकहरुको कुल बढेसँगै बैंकहरुको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको हो । चालु आवको अर्धवार्षिक अवधिमा वाणिज्य बैंकहरुको नाफा साढे ११ प्रतिशत बढेको छ । पुससम्म २० वाणिज्य बैंकले ३० अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिमा बैंकहरूको नाफा २७ अर्ब ३६ करोड रुपैयाँ थियो। 

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक बैंक बाहेक सबै वाणिज्य बैकको प्रतिशेयर आम्दानी (इपीएस) धनात्मक देखिएको छ । लक्ष्मी सनराइज बैंकको भने इपीएस ऋणात्मक रहेको छ । कुल नाफा रकमलाई कायम रहेको शेयर संख्या अर्थात नाफालाई हरेक प्रति सेयरलाई भाग लगाउँदा कति पर्छ भनेर प्रतिशेयर आम्दानीले देखाउँछ । सेयर बजार विश्लेषणमा यस सूचकलाई महत्त्वपूर्ण सूचक मानिन्छ।

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको बैंक नबिल बैंक रहेको छ । यस बैंकको यस्तो आम्दानी ३४.०४ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९९ रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकको यस्तो आम्दानी २४.०५ पैसा रहेको थियो । नाफाका आधारमा समेत पहिलो नबिल बैंक पहिलो स्थानमा रहेको छ । यसले नबिलको नाफा उत्पादन क्षमता अझै बलियो रहेको संकेत गर्छ।

यसैगरी, प्रतिसेयर आम्दानी सबैभन्दा धेरै हुने दोस्रो बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ३०.८६ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १.२० रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकको यस्तो आम्दानी ३२.०६ रुपैयाँ रहेको थियो ।

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी २७.३५ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० रुपैयाँले घटेको हो । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३२.७० रुपैयाँ रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी २२.६४ रुपैयाँ रहेको छ । बैंकको आम्दानी १२.८८ रुपैयाँले बढेको छ । जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय सुधार हो। अघिल्लो वर्ष यस्तो आम्दानी ९.७६ रुपैयाँ रहेको थियो । सरकारी बैंकहरुले पछिल्ला वर्षहरुमा गरेको संरचनागत सुधार र नाफा वृद्धिको सकारात्मक प्रभाव देखिएको छ।

यस्तै, कुमारी बैंकले २० रुपैयाँ ७४ पैसा र सानिमा बैंकले २० रुपैयाँ ५४ पैसा कायम गरेको छ । प्राइम कमर्सिल, नेपाल एसबिआई, सिद्धार्थ, नेपाल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंकको इपीएस ११ देखि २० रुपैयाँको बीचमा छ । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र सिटिजन्स बैंकको इपीएस १० रुपैयाँभन्दा कम रहेको देखिन्छ ।

समीक्षा अवधमिा एनआइसी एसिया बैंक सबैभन्दा कम प्रतिशेयर आम्दानी हुने बैंक बनेको छ। यस बैंकको यस्तो आम्दानी एक रूपैयाँ ७७ पैसा मात्र छ । यसले उच्च सञ्चालन खर्च, प्रोभिजनिङ र नाफामा परेको दबाबलाई उजागर गर्छ।

सबैभन्दा चिन्ताजनक अवस्था लक्ष्मी सनराइज बैंकको छ। बैंक पुससम्म नोक्सानमा रहेकाले यसको ईपीएस २.०४ रुपैयाँ ऋणात्मक छ । मर्जरपछि अपेक्षित सिनर्जी नआउनु, बढ्दो खराब कर्जा र प्रोभिजनिङ दबाबले बैंकको नाफा प्रभावित भएको विश्लेषकहरु बताउँछन्।

समग्रमा बैंकिङ क्षेत्रको नाफा र औसत ईपीएस सुधारोन्मुख देखिए पनि यो सुधार सीमित बैंकमा केन्द्रित छ । बढ्दो खराब कर्जा, कर्जा असूलीको चुनौती र प्रोभिजनिङ दबाबका कारण आगामी दिनमा सबै बैंकले उच्चदरले नाफा बढाउन सक्ने अवस्था छैन।

लगानीकर्ताका लागि ईपीएस मात्र होइन, नाफाको दिगोपन, कर्जा गुणस्तर र पूँजी पर्याप्तता हेर्नु अझ महत्वपूर्ण बन्दै गएको छ। पछिल्लो तथ्यांकले बैंकिङ क्षेत्रमा अवसरसँगै जोखिम पनि समानान्तर रुपमा बढिरहेको संकेत गर्छ।

पुससम्म कुन वाणिज्य बैंकको प्रतिसेयर आम्दानी कति ?

null