शीर्षकहरू

मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषण विरुद्ध जनजागरण अभियानको सुरुवात

मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषण विरुद्ध जनजागरण अभियानको सुरुवात

जनकपुर । मिटरब्याज पीडितहरूले आर्थिक शोषण विरुद्ध जनजागरण अभियानको सुरुवात गरेका छन् । मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि जनकपुरधामबाट अभियानको सुरुवात गरेका छन् । उनीहरुले जनकपुरधाममा विशाल जुलुस निकालेर मुख्यमन्त्री कार्यालय जाने मुख्य सडकमै मशाल जलाएर अभियानको सुरुवात गरेको घोषणा गरेका छन् ।

जुलुसमा देशभरबाट करिब पाँच हजार बढि मिटरब्याजी पीडित सहभागी भएको मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिए । उनले मिटर ब्याजको विरुद्ध आन्दोलनको बिस्तार गर्दै अब यस अभियानलाई देश व्यापी रुपमा लैजाने बताए । 

अध्यक्ष कुशवाहाले मिटर ब्याजको विरुद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र यस मुद्दामा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितहरूको मुद्दा समाधान नभएको गुनासो गरे । उनले राज्यको प्राथमिकतामा मिटरब्याज पीडितहरूको मुद्दा नरहेको र यस अभियान पश्चात् पनि सरकारले ठोस कदम नउडाउ आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनीसमेत दिए ।

उनले देशभर मिटरब्याज पीडितहरू शोषणमै रहेको र मिटर ब्याजको समस्यालाई पहिचान गर्न गठन गरिएको कार्यदलले कुनै कार्य परिणाम नदिएको आरोप लगाए । उनले राज्यका निकायहरूले पीडितलाई झनै पीडित बनाएको गुनासो गरेका छन् ।

यस अभियानको प्रमुख उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त अन्तिम संघर्ष गर्ने संकल्पको साथ जागरूक पार्नु रहेको उनले बताए । यसले मिटरब्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका रक्षकहरूको विरुद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।