काठमाडौं । प्रभु समूहका संस्थापक अध्यक्ष एवम् एमाले सांसद समेत रहेका देवी प्रकाश भट्टचनले सहकारीको अर्बौ रुपैयाँ रकम दुरुपयोग गरेको आरोप लागेको छ । प्रभु म्यानेजमेन्ट कम्पनी मार्फत करिब ४ हजार बचत तथा ऋण सहकारी संस्थाको रेमिट्यान्स भुक्तानी र धरौटी रकम समेत अपचलन गरेको पाइएको हो ।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष समेत रहेकी कुसुम लामाले भट्टचन र प्रभु मनि ट्रान्सफरले सहकारीको रेमिट्यान्स भुक्तानी बापतको रकम र धरौटी रकम दुरुपयोग गरेको आरोप लगाएकी छिन् । उनले भट्टचनको विरुद्धमा नेपाल राष्ट्र बैंक र काठमाडौ महानगरीय प्रहरीमा पनि उजुरी दिएकी छिन् । तर, राजनीतिक शक्तिको आडमा उनलाई कुनै पनि कारवाही नभएको उनले दाबी गरेकी छिन् ।
प्रभु समूहका संस्थापक अध्यक्ष एवम् एमाले सांसद भट्टचनले भने कुसुम लामाले झुठो आरोप लगाएको बताएका छन् । आफुले २०७१ मा नै प्रभु म्यानेजमेन्ट छोडी सकेकोले कम्पनीको दायित्वमा आफनो कुनै हात नभएको उनको भनाई छ । ‘लामाले मेरो विरुद्धमा अफवाह फैलाएकोले मैले मानहानी विरुद्धमा अदालतमा उजुरी पनि दिएको छु,’ उनले भने ।
करिब ४ हजार सहकारीको रेमिट्यान्स भुक्तानी र धरौटी बापतको ६ अर्ब गायब
प्रभु म्यानेजमेन्ट कम्पनीले करिब चार हजार सहकारीको धरौटी रकम र रेमिट्यान्स भुक्तानी बापतको ६ अर्ब रकम भुक्तानी नगरेको पाईएको छ । रेमिट्यान्स सेवा पनि बन्द गर्ने र रकम पनि भुक्तानी नगरेपछि सहकारी संस्थाहरु रकम भुक्तानी गरिदिन आग्रह गर्दै विभिन्न निकाय धाउन थालेका छन् ।
२०७७ सालसम्ममा मात्रै सहकारीबाट धरौटी बापत एक अर्ब रुपैयाँ कम्पनीले संकलन गरेको एक सहकारीका व्यवस्थापकले आर्थिक न्यूजलाई जानकारी दिए । धरौटी र रेमिट्यान्स सहित करिब ६ अर्ब कम्पनीले भुक्तानी नगरेको उनले बताए ।
प्रभु म्यानेजम्यान्ट कम्पनी प्रभु मनी ट्रान्सफर कम्पनीको सुपर एजेण्ट हो । प्रभु म्यानेजमेन्टले मुलुकभरका तीन हजार भन्दा बढी सहकारीलाई सब एजेण्ट बनाएको छ । सब एजेण्ट बनाए बापत कम्पनीले प्रति सहकारी एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म धरौटी लिएको पाइएको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए । त्यस्तै, कम्पनीले सहकारीहरुले सेवाग्राहीलाई भुक्तानी गरेको रेमिट्यान्स रकम फरफारक पनि गरेको छैन । कम्पनीले दुई वर्ष अघि देखि सहकारीहरुको रेमिट्यान्स रकम भुक्तानी नगरेको गुनसो संघमा आइपुगेको उनले बताए । “हामी कहाँ यस्ता उजुरी थुप्रै आएका छन् । कम्पनीले सहकारीहरुको धरौटी रकम मात्रै हैन रेमिट्यान्स सेवाको रकम पनि भुक्तानी गरेको रहेनछ,” उनले भने ।
भुक्तानी नपाएका सहकारीहरुले अहिले संघ, नेपाल राष्ट्र बैंक, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालय, केन्द्रिय अनुसन्धान व्यूरोमा समेत उजुरी दिएका छन् । तर, कतिवटा सहकारीको कति रकम भुक्तानी गर्न बाँकी छ भन्ने यकिन तथ्यांक भने नभएको संघका अध्यक्ष ढकालले बताए । “कम्पनीले धरौटी बापत एउटा सहकारीबाट एक लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँसम्म लिएको रहेछ । तर, रेमिट्यान्स बापतको कति रकम भुक्तानी भएको छैन भन्ने यकिन तथ्यांक हामीसँग पनि छैन,” उनले भने ।
बचत तथा ऋण सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण नेपालका अनुसार प्रभु समूहले पूर्व र सुदुरपश्चिमा धेरै सहकारीलाई ठगेको दाबी गरे । लुम्बिनी प्रदेशका सहकारीहरुले पनि ठगिएको उजुरी संघमा दिएका छन् । संघले बुटवल, दाङ र घोराहीमा भएको कार्यालयबाट लुम्बिनी प्रदेशमा ठगिएका सहकारीको तथ्यांक संकलन गर्न सुरु गरेको उनले बताए । हालसम्म ८ वटा सहकारीले एक करोड २० लाख रुपैयाँ प्रभु समुहबाट ठगिएको जानकारी दिएको उनले बताए । उनका अनुसार लुम्बिनी प्रदेशका ठगिएका सहकारीमध्ये एउटा सहकारीको अधिकत्तम ४२ लाख रुपैयाँसम्म रेमिट्यान्स बापतको रकम भुक्तानी भएको छैन ।
मोरङ जिल्लाका २५ वटा बचत तथा ऋण सहकारीको धरौटी र रेमिट्यान्स बापत दुई करोड २८ लाख रुपैयाँ प्रभु म्यानेजम्यान्टबाट ठगिएको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष प्रेम प्रकाश कोइरालले बताए । सहकारीहरुले रकम ठगिएको उजुरी गर्न थालेपछि संघले पनि सबै सहकारीहरुको तथ्यांक संकलन गरेको उनले बताए । उनका अनुसार सहकारीहरुले सब एजेण्टका लागि एक लाख ३३ हजार देखि अधिकत्तम तीन लाख रुपैयाँसम्म धरौटी राखेको पाइएको छ । तथ्यांक अनुसार अधिकांश सहकारीले तीन लाख रुपैयाँ धरौटी राखेका छन् । रेमिट्यान्स वापतको भुक्तानी एउटा सहकारीको अधिकत्तम ४५ लाख रुपैयाँसम्म रहेको उनले आर्थिक न्यूजलाई बताए ।
सुनियोजित रुपमा कम्पनीको स्थापना गर्दै सहकारी ठग्दै
प्रभु समूहले २०५८ साल देखि प्रभु मनी ट्रान्सफर सेवा सञ्चालन गरेको हो । सब एजेण्टको रुपमा ट्रान्सफरले नेपालभर रहेको सहकारीलाई जोड्न थाल्यो । ट्रान्सफरले सिधै सहकारीसँग डिल गर्न झन्झटिलो हुने भएपछि मध्यस्थताका लागि २०६९ मंसिर १५ मा प्रभु म्यानेजमेन्ट कम्पनी स्थापना ग¥यो ।
सुरुवातमा प्रभु म्यानेजमेन्टमा देवी प्रकाश भट्टचनको ५० प्रतिशत शेयर हिस्सा थियो । भट्टचनका ज्वाई विनोद थकालीको २० प्रतिशत, कुसुम लामाको २० प्रतिशत र दक्ष पौडेलको १० प्रतिशत शेयर लगानी थियो ।
पछि विनोद थकालीको शेयर देवी भट्टचनले ५ प्रतिशत र कुसुम लामाले १५ प्रतिशत लिए । त्यसपछि भट्टचनको शेयर हिस्सा ५५ प्रतिशत भयो भने कुसुम लामाको ३५ प्रतिशत भयो ।
त्यतिबेला दक्ष पौडेल सहकारी बोर्डका अध्यक्ष थिए । सहकारी अभियानमा लागेका पौडेलले प्रभु म्यानेजमेन्टमा सहकारी संस्थाहरुलाई जोड्न सहयोग गरे । पौडेलले नै प्रभु म्यानेजमेन्टमा सहकारीहरुलाई जोड्न डिजाइन तयार पारेको स्रोतले बतायो ।
सब एजेण्टका बनाउँदा कम्पनीले प्रति सहकारी एक लाख रुपैयाँ देखी तीन लाख रुपैयाँसम्म धरौटी लिन थाल्यो । त्यस्तै, म्यानेजमेन्टले प्रति कारोबार ५ रुपैयाँ कमिशन लिन थाल्यो ।
कम्पनीले मुलुकभरका ७ हजार सहकारीलाई सब एजेण्ट बनाएको छ । कम्पनीले २०८१ जेठ सम्ममा चार हजार ५६९ सहकारीबाट धरौटी रकम जम्मा गरेको छ । जसमध्ये तीन हजार भन्दा बढी सहकारीले ९७ करोड ३७ लाख रुपैयाँ रकम फिर्ता पाएका छैनन् ।
सांसद भट्टचनले आफु कम्पनीबाट २०७१ सालमा नै बाहिरिएको बताए पनि सो अवधिसम्ममा कम्पनीमा एक हजार ६८७ सहकारी आबद्ध भैसकेका थिए । जसमध्ये सहकारीको ४० करोड ९७ लाख रुपैयाँ फिर्ता भएको छैन । २०७७ सम्ममा ३ हजार ७०९ सहकारी कम्पनीमा आबद्ध भएका थिए । जसमध्ये ९१ करोड २२ लाख एकहजार २१३ रुपैयाँ अझै सहकारीहरुले फिर्ता पाएका छैनन् । २०७७ सालसम्ममा कम्पनीमा भट्टचनकी छोरी शिक्षा भट्टचनको नाममा शेयर लगानी थियो ।
प्रभु म्यानेजमेन्टबाट बाहिरिएका भट्टचनले खोले प्रभु पेमेन्ट
प्रभु म्यानेजमेन्टबाट सहकारीहरुको अर्बो रकम ठगेपछि प्रभु समूहका देवी भट्टचन कम्पनीबाट बाहिरिएका छन् । भट्टचनले आफनो नामको शेयर पहिलो चरणमा आफनो भतिज मिजाज भट्टचनलाई हस्तान्तरण गरेर आफु कम्पनीबाट बाहिरिए । २०७४ जेठ ११ मा भतिजको नामबाट पनि शेयर आफनै छोरी शिक्षा भट्टचन र आफना विश्वासपात्र धुब्रचन्द्र धितालको नाममा सारे । २०७७ सालमा फेरी कम्पनीकै कर्मचारीको नाममा शेयर हस्तान्तरण गरी उनी कानुनी रुपमा कम्पनीबाट सहजै बाहिरिए ।
प्रभु म्यानेजमेन्टबाट बाहिरिएपछि अहिले उनीहरुले प्रभु पेमेन्ट नामक अर्को कम्पनी खोलेका छन् । एउटै खालको उद्धेश्य राखेर नयाँ कम्पनी खोलिएको छ । कम्पनीमा मिजाज भट्टचन, दुर्गादत्त जोशी र धुव्रचन्द्र धितालको लगानी रहेको छ ।
सरकार गुहार्दै सहकारी, टकटकिदै नियमनकारी निकाय
प्रभु म्यानेजमेन्टले धरौटी र रेमिट्यान्स भुक्तानी भएको रकम राफसाफ नगरेपछि सहकारी संस्थाहरु अहिले सरकार गुहार्न थालेका छन् । विभिन्न निकायमा उजुरी दिन थालेका छन् । तर, नियमनकारी निकायहरु भने आफनो जिम्मेवारी नभएको भन्दै टकटकिएका छन् ।
नेपाल राष्ट्र बैंकको गैर बैक वित्तीय संस्था सुपरिवेक्षण विभागका कामु कार्यकारी निर्देशक चेत प्रसाद उप्रेतीले प्रभु म्यानेजमेन्ट राष्ट्र बैंक अन्तर्गतको कम्पनी नभएकोले कारवाही गर्न नसक्ने बताए ।
कम्पनीले रकम भुक्तानी नगरेको बिषयमा राष्ट्र बैंकमा समेत उजुरी परेको थियो । राष्ट्र बैकमा नै उजुरी परेपछि विभागले निरिक्षण पनि गरेको थियो । निरिक्षणमा भने प्रभु मनि ट्रान्सफरले रेमिट्यान्स भुक्तानी बापतको रकम प्रभु म्यानेजमेन्टलाई ट्रान्सफर गरेको देखिने निरिक्षण टोलीका एक कर्मचारीले बताए । ‘हामीले प्रभु मनी ट्रान्सफरको स्टेटमेन्ट पनि ल्याएर हेरौ रकम ट्रान्सफर भएको देखिन्छ । तर, अडिट रिपोर्ट नआएसम्म स्पष्ट केही दाबी गर्न सकेनौ,’ उनले भने ।
विभागले प्रभु मनि ट्रान्सफर र म्यानेजमेन्टलाई बोलाएर छुटाछुट्टै सोधपुछ पनि गरेको थियो । कानुनी रुपमा प्रभु मनि ट्रान्सफर र म्यानेजमेन्टको लगानीकर्ता फरक फरक भएको देखिने र हिसाब फरक फारक भएको पनि देखिन्छ । ‘आन्तरिक लेनदेन नमिलेको जस्तो देखिन्छ । आन्तरिक लेनदेनलाई राष्ट्र बैकले नियमन गर्दैन,’ उनले भने ।
प्राप्त कागजपत्रका आधारमा सेवाग्राहीले रकम पाएको प्रभु मनि ट्रान्सफरले पनि रकम पठाएको देखिन्छ । बिचका मध्यस्थकर्ताले रकम नपाएको उजुरी आएको राष्ट्र बैकले जनाएको छ । प्रभु म्यानेजमेन्ट राष्ट्र बैंकको निकाय अन्तर्गत नभएकाले कारवाही नमिल्ने उनले बताए ।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि सहकारीले गरेको रेमिट्यान्स कारोबारको बिषयमा संघ जिम्मेवार नहुने बताए । संघले बचत र ऋणको बिषयमा मात्रै सरोकार राख्छ । तर, सहकारीले अरु नै निकायसँग सम्झौता गरी गरेको रेमिट्यान्स कारोबारको बिषयमा संघले केही गर्न नसक्ने उनले स्पष्ट पारे । ‘हामीले सहजीकरण गर्ने मात्रै हो । हामीलाई आएको गुनासोको बारेमा हामीले सम्बन्धित निकायलाई जानकारी गराएका छौ,’ उनले भने ।
सहकारी विभागका उप रजिष्ट्रार रघुनाथ महत्तले भने यस बिषयमा विभागमा कुनै जानकारी नआएको बताए ।