शीर्षकहरू

अधिक तरलताको २० अर्ब खिच्दै केन्द्रीय बैंक, बैकिङ निक्षेपमा नयाँ रेकर्ड

अधिक तरलताको २० अर्ब खिच्दै केन्द्रीय बैंक, बैकिङ निक्षेपमा नयाँ रेकर्ड

काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । बैंकहरुले निक्षेप संकलन उपकरणमा गत चैत ६ गते राखेको ९ अर्ब ४०  करोड परिपक्क भएपछि केन्द्रीय बैंकले थप २० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट प्रशोचन गर्न लागेको हो । बैंकहरुले निक्षेप संकलन उपकरणमार्फत यस अघि संकलन भएको १ खर्ब ३२ अर्ब ५ करोड रकम परिपक्क हुन बाँकी छ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति वैशाख १७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसअघि केन्द्रीय बैंकले गत सोमबार पनि ३५ अर्ब रुपैयाँ बराबरको २३ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणमा ९ बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब ३० करोड जम्मा गरेका छन् । जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो । चैत महिनामा मात्रै केन्द्रीय बैंकले ७ पटक यस्तो उपकरण जारी गरिसकेको छ । 

अन्तर बैंक दर ब्याजदर करिडोरको तल्लो सीमाभन्दा तल जान नदिने गरी तरलता व्यवस्था गर्ने काम केन्द्रीय बैंकले गर्छ । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशत ब्याजदर तोकेको छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा अधिकतम ३ प्रतिशतसम्म ब्याजदर पाउँछन् । स्थायी निक्षेप सुविधाको ब्याजदर भने ३ प्रतिशत निश्चित गरिएको छ भने निक्षेप संकलनको ब्याजदर भने बोलकबोल मार्फत निर्धारण हुन्छ । अधिक तरलता भएको अवस्थामा निक्षेप संकलनको ब्याजदर कम हुन्छ भने कसिलो अवस्थामा ब्याजदर बढ्छ । 

लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ । अधिक तरलताको अवस्था झनै बढ्दै गएपछि राष्ट्र बैंकले नियमित रुपमा स्थायी निक्षेप सुविधा एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ । 

राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६८ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यो हालसम्मकै उच्च हो । यसअवधिमा बैंकहरुले ५४ खर्ब ८२ अर्ब कर्जा लगानी गरेका छन । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.१८ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ६ खर्ब ५२ अर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ ।

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...