शीर्षकहरू

नेपाली अर्बपति चौधरीले फिलिपिन्सको वेलनेस सेन्टरलाई ‘अटोग्राफ कलेक्शन’ रिसोर्टमा रुपान्तरण गर्ने

नेपाली अर्बपति चौधरीले फिलिपिन्सको वेलनेस सेन्टरलाई ‘अटोग्राफ कलेक्शन’ रिसोर्टमा रुपान्तरण गर्ने

काठमाडौँ । नेपालका अर्बपति विनोद चौधरीको स्वामित्वमा रहेको सीजी होस्पिटालिटीले हालसालै मेरियट इन्टरनेशनलसँग फिलिपिन्सस्थित एक वेलनेस सेन्टर  लाई  ‘अटोग्राफ कलेक्शन’ रिसोर्टमा परिवर्तन गर्ने  सम्झौता गरेको छ।

मनीलाको दक्षिणमा अवस्थित बटाङ्गास प्रान्तको यो ‘द फार्म एट सान बेनिटो’ भनिने  वेलनेस केन्द्र फिलिपिन्समा मेरियटले व्यवस्थापन गर्ने पहिलो ‘अटोग्राफ कलेक्शन’ रिसोर्ट हुनेछ। कम्पनीको  संयुक्त वक्तव्यअनुसार, रिसोर्ट २०२५ को तेस्रो त्रैमासिकको अन्त्यमा सञ्चालनमा आउनेछ। सम्झौतासम्बन्धी आर्थिक विवरण भने सार्वजनिक गरिएको छैन।

“ विश्व पर्यटन  उद्ध्योगमा  वेलनेस एक प्रमुख तत्वको रुपमा विकसित भइरहेको  सन्दर्भमा यो साझेदारी  हाम्रो लागि समयसापेक्ष र रणनीतिक छ,” मेरियट इन्टरनेशनलका एशिया प्यासिफिक (चीन बाहेक) अध्यक्ष राजीव मेननले बताएका छन्। “अन्तर्राष्ट्रिय पर्यटक माझ एक अत्यन्त  लोकप्रिय गन्तव्यका रूपमा पहिचान बनाएको फिलिपिन्स ‘अटोग्राफ कलेक्शन’ ब्रान्डका लागि उत्कृष्ट स्थल हो।”

करिब ९ महिना अघि  चौधरी र फिलिपिन्सका अर्बपति एन्ड्र्यु ट्यानको कम्पनी मेगावर्ल्ड कर्पबीच "द फार्म एट सान बेनिटो’ नजिक २०८ मिलियन डलरको लागतमा नयाँ टाउनशिप निर्माण गर्ने  सहमति भएको थियो।

लिपा सिटीमा २५ हेक्टर क्षेत्रफलमा फैलिने उक्त टाउनशिपमा आवासीय कन्डोमिनियम, होटल, खुद्रा पसल, खेलकुद र मनोरञ्जनका सुविधा रहनेछन्। राजधानी मनीलाबाट ८५ किलोमिटर टाढा, झन्डै ९० मिनेटको दूरीमा अवस्थित परियोजनालाई ‘सान बेनिटो प्राइभेट इस्टेट’ नाम दिइएको छ, जसबाट ‘द फार्म एट सान बेनिटो’मा सिधा पहुँच हुनेछ।

५२ हेक्टरमा फैलिएको यो वेलनेस केन्द्र रूपान्तरणपछि ७० युनिट क्षमताको हुनेछ, जसमा एक शयनकक्षीय भिल्ला तथा दुई र चार शयनकक्ष एवं  निजी स्विमिङ पूलहरुले सम्पन्न  भिल्लाहरू रहनेछन्।

सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीका अनुसार मेरियटसँगको यो सहकार्यले दक्षिण एसियाली क्षेत्रमा वेलनेस हस्पिटालिटीको नयाँ मापदण्ड स्थापित गर्नेछ। पुनःब्रान्डिङ गरिएको रिसोर्टमा पाँचवटा रेस्टुरेन्ट, बारसहितको स्विमिङ पूल, जिम,  स्पा,  आदि  रहनेछ। व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि ३२१ वर्गमिटर क्षेत्रफलको बहुप्रयोगीय कार्यक्रम स्थलसमेत रहने बताइएको छ।

अहिले सीजी होस्पिटालिटीको स्वामित्वमा १२ देशमा फैलिएका १९० भन्दा बढी होटल तथा रिसोर्टहरू छन्, जसमा १२,००० भन्दा बढी कोठाको व्यवस्था छ । चौधरी नेपालकै एकमात्र अर्बपति हुन्, जसको कुल सम्पत्ति २ अर्ब अमेरिकी डलर बराबरको छ। उनी नेपालस्थित नबिल बैंक र ‘वाइ वाइ’ नामक  चाउचाउ ब्रान्ड उत्पादन गर्ने सीजी फुड्समा पनि प्रमुख लगानीकर्ता हुन्।

(श्रोत :फोर्ब्स म्यागजिन)