काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको शुक्रबार हुने निर्वाचनका लागि दुई वटा प्यानल भिड्ने भएका छन् । निर्वाचनमा नरेश गेलाल नेतृत्व र भुवन गुरुङ नेतृत्व बीचको दुई प्यानल बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
गेलाल प्यानलमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, समाजवादी वैदेशिक रोजगार व्यवसायी संगठन, तराई मधेश वैदेशिक रोजगार व्यवसायी संगठन र राप्रपा वैदेशिक रोजगार व्यवसायी बीच गठबन्धन भएको छ । त्यस्तै, गुरुङ नेतृत्वको प्यानलमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसियसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च बीच गठबन्धन भएको छ ।
बिहीवार नै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले पाँच जना उम्मेदवारलाई निलम्बन गरेको छ । एसोसिएसनको निर्णयलाई वेवास्ता गरी बागी उम्मेदवार बनी एसोसिएसनले घोषणा गरेका उम्मेदवारलाई नै हराउने खेलमा लागेको भन्दै उनीहरुलाई निलम्बन गरेको हो । निलम्बन पर्नेमा सुजित कुमार श्रेष्ठ, हिमा गुरुङ्ग, कर्णराज कटुवाल, चन्द्र बहादुर लिम्बु, ईश्वर सापकोटा रहेका छन् ।
निर्वाचनबाट १७ जनाको कार्यसमिति चयन हुनेछ । सात जना पदाधिकारी र १० जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । संघका हालसम्म ९०३ जना व्यवसायी दर्ता भएका छन् ।
सेवा शुल्क देखि १०० संख्याको बाध्यकारी व्यवस्था हटाउने प्रतिबद्धता
निर्वाचनमा होमिएका दुवै प्यानल वैदेशिक रोजगार व्यवसायीको सेवा शुल्क तोक्ने देखि लिएर घरेलु श्रमिकको लागि सहज वातावरण निर्माण गरिनेसम्ममा प्रतिबद्धता गरेका छन् ।
गुरुङ नेतृत्वको प्यानलले संघको व्यवस्थापकीय सुधार, व्यवसायीको हक हित र वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित बनाउने प्रतिबद्धता गरेको छ । गुरुङ प्यानलले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको व्यवस्थापकीय संरचनामा व्यापक सुधार गरिने प्रतिबद्धता गरेको छ । त्यस्तै, सय संख्याको समस्या अन्त्य गरिने प्रतिबद्धता गरेको छ । व्यवसायीलाई अस्वस्थ प्रतिस्पर्धा गराउने र कामदारको हित विपरीत वार्षिक १०० जना कामदार पठाउने पर्ने गरी बनाएको बाध्यकारी नियम नीतिगत रुप नै सदाका लागि अन्त्य गराउने प्रतिबद्धता गरेको छ ।
व्यवसायीको सेवा शुल्क तोकिनेछ । व्यवसायीहरूले लिन पाउने सेवा शुल्कलाई अन्तर्राष्ट्रिय अभ्यास र मापदण्ड अनुसार परिमार्जन गरी कामदारको कम्तीमा एक महिनाको तलब बराबरको शुल्क लिन पाउने गरी आवश्यक पहल गर्ने प्रतिबद्धता गरेको छ ।
गुरुङ प्यानलले धरौटी रकमको ब्याज पाउने व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ । व्यवसायीहरूले धरौटी बापत नेपाल सरकारको खातामा राखेको रकमको ब्याज पाउने व्यवस्था गर्ने, मागपत्र प्रमाणीकरण र कामदारका समस्याको समाधान गर्ने, अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने, तालिम तथा गोष्ठीको आयोजना गर्ने, व्यवसायी भलाई तथा कल्याणकारी कोष बनाउने लगायतका प्रतिबद्धता गरेको छ ।
उता गेलाल नेतृत्व प्यानलले पनि वैदेशिक रोजगारी व्यवसायलाई पारदर्शी बनाउने दाबी गरेको छ । १०० जना श्रमिक रोजगारीमा पठाउनु पर्ने बाध्यकारी व्यवस्था हटाउने, सेवा शुल्कको विषयमा वृहत् छलफल चलाउने, घरेलु श्रमिकलाई सहज रुपमा रोजगारीमा पठाउने विषयमा पहल गर्ने, मागपत्र प्रमाणीकरणलाई छिटो छरितो र सहज बनाउने लगायतका एजेन्डा अगाडि सारेको छ ।
कसको प्यानलमा कसको उम्मेदवारी ?
संघको आगामी शुक्रबार हुने निर्वाचनमा अध्यक्ष पदमा गुरुङ म्यानेजमेन्टका संचालक भुवन सिंह गुरुङ प्यानलका तर्फबाट प्रथम उपाध्यक्षमा नोकरी नेपालका संचालक नरेन्द्र प्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलर्ट ओभरसिजका संचालक देव कुमार खोखाली, तृतीय उपाध्यक्षमा इम्प्लोइमेन्ट क्रियसन सर्भिसका संचालक हर्कबहादुर लिम्बू, महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्टका संचालक महेश कुमार बस्नेत, सचिवमा आकृति रिक्रुटिङका संचालक कुन्छा दोर्जे दिम्दोङ र कोषाध्यक्षमा शुभ हारती म्यानपावरका संचालक विक्रम श्रेष्ठले उम्मेदवार छन् ।
उक्त प्यानलबाट कार्यसमिति सदस्यहरूमा भरत सापकोटा, विद्या लक्ष्मी बज्राचार्य, राज लामा तमाङ, कृष्ण ढकाल, सुवर्ण लामा, देवी प्रसाद गिरी, रेखा शर्मा, दीपक कुमार राय, सुमन राज पाण्डे, कैलाश पाठकले उम्मेदवारी दिएका छन् ।
त्यस्तै निर्वाचनमा नरेश गेलाल प्यानलबाट प्रथम उपाध्यक्षमा एलायन्स ह्युमन रिसोर्सका संचालक संघका पूर्वमहासचिव सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इम्प्लोइमेन्ट लिंक नेपालका संचालक मधुकर रिजाल, तृतीय उपाध्यक्षमा न्यु अल्फा एचआरका संचालक बैकुण्ठ पौडेल (वैभव), महासचिवमा डाइनामिक स्टाफिङ सोलुसनका संचालक कर्णराज कटुवाल, सचिवमा कन्फिडेन्ट इन्टरनेसनल म्यानपावरका संचालक अनिल बोगटी र कोषाध्यक्षमा कालिञ्चोक एचआरका संचालक धनुमाया सिँजालीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै कार्यसमिति सदस्यमा देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, चन्द्र बहादुर लिम्बु, दिनेश बस्नेत, छत्र बहादुर बस्नेत, युवराज देवकोटा, रमा खड्का, हेमा गुरुङ्ग, कामेशवर साह, राजेश यादवले उम्मेदवारी दिएका छन् ।
संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी पनि रहेको छ । जसमा प्रथम उपाध्यक्ष अख्तर हुसेन र सचिव पदमा ईश्वर सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।