काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको भन्दै छानबिन गर्नुपर्ने माग उठेको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले प्राधिकरणको अध्यक्षमा योग्यता नपुगेको व्यक्तिलाई नियुक्त गरेको भन्दै संसदिय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।
२०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णय पारदर्शिता नभएका र सार्वभौम सत्ताको दुरुपयोग भएको आरोप लगाउँदै सांसद भोटेले सरकारसँग जवाफ माग गरेका हुन् । सांसद भोटेले २०८१ असार ३१ गतेसम्म ओझा संवाददाता पदमा काम गरेको प्रमाण आफूसँग रहेको भन्दै फर्जी किर्ते कागजको आधारमा सरकारले अध्यक्षमा नियुक्त गरेको आरोप लगाएका छन् ।
सांसद भोटेका अनुसार प्राधिकरणको अध्यक्ष बन्नका लागि ओझाको उमेर समेत पुगेको छैन । उनी ३५ वर्षका भएका छैनन् । बीमा ऐन, २०७९ अनुसारको योग्यता नै नपुगेको व्यक्तिलाई मन्त्रिपरिषदले के आधारका नियुक्ति गरेको भन्दै उनले प्रश्न गरेका छन् । उनले आश्चर्य चकित पर्दे भने, 'मन्त्रिपरिषदभित्र यस्तो झूट कसरी भयो ?’
उक्त नियुक्ति प्रकरणमा प्रधानमन्त्री, अर्थ मन्त्री, मुख्य सचिव, अर्थ मन्त्रालयका सचिव सबै दोषी रहेको भन्दै उनले संसदिय समिति बनाएर छानबिन गर्नुपर्ने माग राखेका हुन् ।
ओझाको नियुक्तिलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वाेच्च अदालतमा पनि उजुरी परेको छ ।