काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसल बीच भविष्यमा पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ ।
एनआईसी एशिया क्यापिटलले 'आईडिया टु आईपीओ' सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । सोही सेवा अन्तर्गत सुख्खानगर, बुटवल, रुपन्देहीमा रजिष्ट्रार कार्यालय रहेको पैचो पसललाई क्यापिटल उक्त सेवा दिने भएको हो ।
जसमा क्यापिटलले सो कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा प्राथमिक शेयर निष्कासन गर्नको लागि आवश्यक परामर्श तथा सेवा दिनेछ ।
पैचो पसल कृषि व्यवसायमा केन्द्रीत कम्पनी हो । कम्पनीले उच्च पहाडी क्षेत्रका उत्पादन भएको तरकारीहरुलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माझँ पुर्याउन सफल भएको छ । पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ ।
पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पुर्याउन सफल भएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ । पैचो पसलले आगामी दिनमा सर्वसाधारणहरुमा शेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रुपमा विस्तार गर्ने लक्ष्य लिएको छ ।