शीर्षकहरू

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति

मानव विकासको गति सुस्त, ३५ वर्षयताकै न्यून प्रगति

संयुक्त राष्ट्र  । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) ले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार, मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ ।

संयुक्त राष्ट्र महासचिवका उपप्रवक्ता फरहान हकले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा भने, “सन् २०२०/२०२१ को गम्भीर संकटपछि विश्वले अपेक्षाअनुसार द्रुत गतिमा सुधार गर्ने विश्वास गरिएको थियो, तर त्यो सम्भव हुन सकेन ।” उन ‘विकल्पको कुरा : कृत्रिम बुद्धिमत्ताको युगमा मानिस र सम्भावना’ भन्ने शिर्षकको सन् २०२५ को मानव विकास प्रतिवेदन उद्धृत गरे ।

प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरुमा मानव विकास सूचकांकमा उल्लेखनीय सुधार नदेखिएको उल्लेख गरिएको छ । यदि यही अवस्था दीर्घकालीन रुपमा कायम रह्यो भने, संसार अझ असुरक्षित, विभाजित र आर्थिक तथा वातावरणीय संकटहरुप्रति झनै संवेदनशील बन्ने सम्भावना रहेको चेतावनी दिइएको छ ।

स्वास्थ्य, शिक्षा र आयजस्ता सूचकहरुमार्फत गरिएको विश्लेषणले कम विकास सूचकांक भएका मुलुक र उच्च सूचकांक भएका मुलुकहरुबीचको खाडल लगातार चौथो वर्ष पनि अझ फराकिलो बन्दै गएको देखाएको छ । 

विशेषतः न्यून सूचकांक भएका देशहरु व्यापारिक तनाव, ऋण संकट र प्रविधिमा आधारित बेरोजगार औद्योगिकीकरणका कारण थप समस्यामा परेका छन् ।

यद्यपि, प्रतिवेदनमा गरिएको सर्वेक्षण अनुसार, धेरैजसो नागरिकहरु कृत्रिम बुद्धिमत्ताको प्रभावप्रति यथार्थवादी तर आशावादी दृष्टिकोण राख्ने देखिएका छन् । सर्वेक्षणमा सहभागी १० मध्ये ६ जनाले प्रविधिले रोजगार क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने र भविष्यमा नयाँ प्रकारका रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । सिन्ह्वा