काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद रह्यो । गत वर्ष प्रदर्शन भएका चलचित्रले घरेलुबजारमा दर्शकको राम्रो साथ पाए । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष स्वदेशी चलचित्र ५७ वटा प्रदर्शन भए ।
चलचित्र विकास बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)को तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाइ गर्दै घरेलुबजारमा सर्वाधिक कमाइ गर्ने स्वदेशी चलचित्र बन्यो । प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा न्यून कमाइ गर्ने चलचित्र ‘इन्दिरा धिमे मैचा’ बन्यो । उक्त चलचित्रले कूल ११ हजार ७०० रुपैयाँ मात्र कमाइ गरेको तथ्याङ्क उल्लेख छ ।
गत वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्र ‘परान’ का लागि कूल छ लाख ३० हजार ६९१ प्रति टिकट बिक्री भएको थियो । दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले विशेषतः परिवारलाई दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो ।
त्यसैगरी गत वर्ष सर्वाधिक कमाइ गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि पाँच लाख चार हजार ३२९ प्रति टिकट बिक्री हुँदा १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाइ गरेको छ ।
निर्देशक चन्द्र पन्तले निर्देशन गरेको उक्त चलचित्रमा अभिनेता पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् । आमा र छोराबीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ ।
गत वर्ष सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा तेस्रो स्थानमा ‘जेरी अन टप’ रहेको छ । सगरमाथा आरोहण र प्रेम कथा देखाइएको उक्त चलचित्रले नेपालको सुन्दरतालाई चित्रण गरेको थियो ।
सामाजिक विषयवस्तुसँग आधारित रहेर तयार भएका चलचित्रको भिडमा भिन्न देखिएकै कारण ‘जेरी अन टप’ ले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाइ गर्न सफल भएको छ । सुयोग गुरुङले निर्देशन गरेको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रेम कथानक चलचित्र ‘उनको स्वीटर’ गत वर्ष २०८२ मा सर्वाधिक कमाइ गर्ने सूचीको चौथो स्थानमा छ । विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राईलगायतले अभिनय गरेको उक्त चलचित्रले घरेलुबजारमा ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ कमाइ गरेको छ । नवीन चौहान निर्देशित उक्त चलचित्रका लागि तीन लाख ९२ हजार २४३ प्रति टिकट बिक्री भएको थियो ।
पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले छ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाइ गरेको छ । उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको उक्त चलचित्रका लागि दुई लाख नौ हजार ३३३ प्रति टिकट बिक्री भएका थिए । उक्त चलचित्रमा अभिनेता दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।
त्यसैगरी सर्वाधिक कमाइ गर्ने चलचित्रको छैटौँ स्थानमा चलचित्र ‘बलिदान’ रहेको छ । जसले पाँच करोड १० लाख ५१ हजार १७२ रुपैयाँ, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले पाँच करोड आठ लाख ९५ हजार ५१२ रुपैयाँ र आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले चार करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ कमाएको उल्लेख छ । नवौँ स्थानमा रहेको चलचित्र ‘माग्ने राजा’ ले चार करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ र दशौँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले चार करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाइ गरेको छ ।
गत वर्ष कलाकारको ‘स्टारडम’ भन्दा ‘कन्टेन्ट’ चलेको वर्षका रुपमा हेर्न सकिन्छ । प्रदर्शन भएपछि दर्शकले नै सिफारिस गरेका कारण सफलताको नयाँ कीर्तिमान बनाउन सफल भए ।
गत वर्ष दर्शकहरू कलाकारको अनुहारभन्दा पनि चलचित्रमा उठान गरिएको विषयलाई हेर्न आएको चलचित्र वितरक करण श्रेष्ठले बताए । उनले भने, “गत वर्ष ‘स्टार’ कलाकारसँगै सामान्य रुपमा हेरिएको तर पात्रलाई पर्दामा जीवन्त बनाउन सक्ने कलाकारको चलचित्रको व्यापार धेरै भएको छ । दसैँ र तिहारमा भएको चलचित्रको व्यापारले समग्र क्षेत्रलाई चलायमान बनाउन सफल भयो । गत वर्ष नेपालमा जेनजी पुस्ताको आन्दोलन, प्रतिनिधिसभाको निर्वाचनलगायतका गतिविधि भए तापनि समग्रमा चलचित्रको व्यापार राम्रो देखिएको छ ।”
गत वर्ष प्रदर्शन भएर घरेलुबजारमा राम्रो कमाइ गर्ने चलचित्रको सूची हेर्दा रङ्गमञ्चका कलाकारसँगै ‘स्टार’ भनिएका कलाकार पनि छन् । समग्रमा गत वर्ष अभिनय भन्दा ‘स्टारडम’का कारण चर्चामा आउने अभिनेता अनमोल केसी, पल शाहसँगै आफूले पाएको पात्रलाई जीवन्त बनाउने अभिनेता विपिन कार्की, महेश त्रिपाठी, नीर शाहलगायतले अभिनय गरेको चलचित्र दर्शकको रोजाईमा परेको छ ।
चलचित्रमा विषयवस्तु वा कथा आकर्षणसँगै ‘स्टारडम’ भएका कलाकारको चलचित्रलाई दर्शकको साथ प्राप्त हुनु सुखद रहेको निर्देशक मिलन चाम्सले बताए । “वर्ष विसं २०८१ मा चलचित्रको कथामा दर्शक आकर्षित हुनुभएको पाएका थियौँ । यसले नयाँ चलचित्रकर्मीलाई पनि प्रेरणा दिन्छ”, निर्देशक चाम्सले भने ।
गत वर्ष गत फागुनदेखि प्रदर्शनभएका चलचित्रले भने दर्शकको खासै साथ पाउन सकेका छैनन् । ती चलचित्रको व्यावसायिक तथ्याङ्क सुखद छैन । देश चुनावी माहोलमा प्रवेश गरेकै कारण फागुन र चैतमा प्रदर्शन भएका चलचित्रको व्यापार कमजोर भएको निर्देशक पुर्नेन्दु झाले बताए ।
समग्रमा चलचित्रका लागि गत वर्ष सुखद नै रहेको निर्देशक तुलसी घिमिरेको बुझाइ छ । झन्डै नौ वर्षको विश्रामपश्चात् चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा फर्किएका निर्देशक घिमिरेले घरेलु र विदेशी बजारका कारण धेरै चलचित्रले लगानी सुरक्षित गर्न सकेको बताए ।
“अहिले धेरै चलचित्र नेपालसँगै विदेशी बजारमा पनि प्रदर्शन हुने गरेको पाइन्छ । ती चलचित्रले दर्शकको मन जित्न सके व्यावसायिक रुपमा राम्रो गरिरहेको उदाहरण प्रसस्तै छन्, सोही कारण अहिले नेपालसँगै अन्य बजार पनि सम्भावनाका रुपमा अगाडि आएको छ”, निर्देशक घिमिरेले भने ।
यो गत प्रदर्शन भएका चलचित्रको सङ्ख्या र घरेलुबजारमा सफल भएको चलचित्रको सङ्ख्या हेर्दा वर्ष २०८३ आशावादी हुन सकिने चलचित्रकर्मी बताउँछन् । रासस
आर्थिकन्यूज
प्रतिक्रिया