शीर्षकहरू

बीमा व्यवसायको वृद्धिदर झण्डै १४ प्रतिशत, आकार १ खर्ब ६० अर्ब नजिक

बीमा व्यवसायको वृद्धिदर झण्डै १४ प्रतिशत, आकार १ खर्ब ६० अर्ब नजिक

काठमाडौं । हाल देशमा सञ्चालित बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैतमसान्तसम्म कुल १ खर्ब ५९ अर्ब ८५ करोड बढी बीमाशुल्क आर्जन गरेका छन् । यो सञ्चालनमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमा शुल्क हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बीमाशुल्क संकलन १३.९३ प्रतिशतले बढेको हो । बीमा कम्पनीहरुको गत आवको चैतसम्म  १ खर्ब ४० अर्ब ३१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमध्ये जीवन बीमा कम्पनीहरुले १ खर्ब २७ अर्ब ३ करोड ६९ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । गत वर्षको यसै अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १५.३२  प्रतिशत तथा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ८.८३ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चैतसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब १० अर्ब १६ करोड १६ लाख रुपैयाँ तथा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब १५ करोड ३० लाख बीमाशुल्क संकलन गरेका थिए । यो अवधिमा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् भने बीमा लेख नवीकरणबाट ९९ अर्ब ५६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । गत आवको चैतको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २७.५४ प्रतिशत तथा नवीकरण शुल्क १२.३५ प्रतिशतले बढेको हो । 

बीमा कम्पनीहरुले आफ्नो व्यवसाय तथा पहुँच विस्तारका लागि शाखा संजालसँगै कर्मचारी बढाउँदै लगेको अनुपातमा बीमाको पहुँच विस्तारमा भने सामान्य सुधार देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको गत चैत मसान्तसम्मको बीमा क्षेत्रको विवरणमा पछिल्लो १ वर्षमा बीमा कम्पनीहरुको कार्यालय संख्या २.१५ प्रतिशत तथा कर्मचारी संख्या ४.५१ प्रतिशतले बढेको छ ।

बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत महिनासम्मको तथ्यांक अनुसार बीमाको दायरामा आएको कुल जनसंख्या ४४.६४ प्रतिशत छ । यो म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको हो । गत आवको सोही अवधिमा भने ४३.३२ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको देखिन्छ ।

प्राधिकरणका अनुसार म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमा बाहेक गत चैतसम्म १६.४८ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा आएको देखिन्छ । अघिल्लो वर्षको चैतसम्म १७.२४ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका थिए । म्यादी, लघुम्यादी बिमालेखसहित भने गत चैतसम्म ३६.६५ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको देखिन्छ । 

गत चैतसम्म कुल सक्रिय जीवन  बीमालेखको संख्या भने १ करोड ४३ लाख ९९  हजार ५७३ वटा छन् । यस्तै कुल सक्रिय निर्जीवन बिमालेखको संख्या २४ लाख १२ हजार ३३१ रहेको छ । समीक्षा अवधिमा सक्रिय जीवन बीमालेखको संख्या २.८४ प्रतिशत तथा कुल निर्जीवन बीमालेखको संख्या ६.६३ प्रतिशतले बढेको छ । तर यस अवधिमा कुल जारी भएका जीवनबीमालेखको संख्या भने १३.२ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ । 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...