काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बीमा कम्पनीहरूले कृषि बीमा बापतको दाबी भुक्तानी समयमा नभएको ठहर गरेको छ । कार्यालयले आज बुधबार राष्ट्रपति समक्ष पेश गरेको गत आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदनमा कम्पनीहरूले समयमा दाबी भुक्तानी नदिएको ठहर गरिएको छ ।
बीमा कम्पनीहरूले क्षति भएको जानकारी पाएको ५७ दिनभित्र दाबी भुक्तानी गरि सक्नुपर्ने कानूनी व्यवस्था रहेको छ । तर, कम्पनीहरुल अघिल्लो वर्ष पेश भएको दाबीको समेत भुक्तानी नदिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १४ वटा निर्जीवन बीमा कम्पनीहरूमा ३२ हजार ५६६ वटा बीमालेखबाट १ अर्ब ७० करोड ७ लाख रुपैयाँ बराबरको दाबी पेश भएको थियो । जसमा कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको सहित ३३ हजार १२८ वटा बीमालेखबाट दाबी पेश भएको १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ भुक्तानी दिएको छ । ४ हजार ८२७ वटा बीमालेखकोे ३७ करोड ४१ लाख रुपैयाँ भुक्तानी दिन बाँकी नै रहेको छ ।
यसैगरी, बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले पनि कम्पनीहरुलाई राम्रो सँग नियमन र अनुगमन नगरेको महालेखाले ठहर गरेको छ । जसले गर्दा बीमित किसानहरूले समयमा क्षतिपूर्ति पाएका छैनन् । यसले बीमितहरुले आर्थिक संकट भोग्नुपरेको, बीमा प्रणाली प्रति विश्वास कम हुँदै गएको र बीमाको निरन्तरतामा कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बीमकले समय सिमाको पालना गर्नुपर्ने, प्राधिकरणले प्रभावकारी नियमन र अनुगमन गर्नुपर्ने, डिजिटल प्रणालीको विकास गर्नुपर्ने र दाबी भुक्तानी प्रक्रियाबारे पारदर्शिता कायम गर्नुपर्ने सुझाव महालेखाको छ ।