शीर्षकहरू

बजार बढ्ने आशामा सेक्टर सिफ्ट गर्दै शेयर लगानीकर्ता, कारोबारसँगै घट्यो नेप्से

बजार बढ्ने आशामा सेक्टर सिफ्ट गर्दै शेयर लगानीकर्ता, कारोबारसँगै घट्यो नेप्से

काठमाडौं। nullपछिल्ला केहि साता यताको शेयर कारोबारमा फरक फरक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । बजेटपछिका केही कारोबारमा एकाएक बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण बढेको थियो । त्यसपछि हाइड्रोपावर, होटल तथा पर्यटन हुँदै लगानीकर्ताहरुको आकर्षण लघुवित्त कम्पनीहरुमा देखिएको छ । 

नेपाल राष्ट्र बैंकको गभर्नर नियुत्ति र बजेटपछि बजार बढ्ने आँकलन धेरै लगानीकर्ताहरुको रहेको थियो । सोही विश्वासमा लगानी बढाएका शेयर लगानीकर्ताहरुले बजार अपेक्षित रुपमा नबढेपछि सेक्टर सिफ्ट गर्न थालेका छन् । पछिल्लो समयमा द्धिर्घकालीन लगानीकर्ता भन्दा अल्पकालीन कारोबारीहरु हाबी हुँदै आएको बजारमा उनीहरुले नै सेक्टर सिफ्ट गर्न थालेको बताइन्छ । यति हुँदाहुँदै पनि बजारमा अझै चहलपहल आउन सकेको छैन् । केहि दिन यता कारोबार रकममा आएको सुधारले बजार बढ्ने आँकलन गरिएको भएपनि अझै लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजार साइडवेजमै चलिरहेको छ ।

अघिल्ला दुई दिनमा सामान्य अंक बढेर बन्द भएको नेप्से आज ३.९० अंक घटेर २६५४.७५ विन्दुमा झरेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार १३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेका छन्। यस दिन लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । नेप्सेमा सूचीकृत ५० लघुवित्त कम्पनीहरुमध्ये ४५ कम्पनीहरुको शेयरमूल्य बढेसँगै यस उपसमूहको परिसूचक पनि बढ्न पुगेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.५८ प्रतिशत घटेको छ।

पियोर इनर्जीको शेयरमूल्य यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ४.६२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७४ करोड ९६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन बुटवल पावर कम्पनीको करिब साढे ६० करोड रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको ४६ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।