शीर्षकहरू

जलविद्युत बीमामा सहजता नहुँदा लगानी आकर्षणमा कठिनाइ : अध्यक्ष ओझा

जलविद्युत बीमामा सहजता नहुँदा लगानी आकर्षणमा कठिनाइ : अध्यक्ष ओझा

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले निर्जीवन बीमा कम्पनीहरूले जलविद्युत परियोजना बीमा प्रक्रियालाई झन्झटिलो बनाउने गरेको बताएका छन् । नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजम्यान्ट एशोसियन (निर्मा) को ६ औ वार्षिकोत्सवको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले जलविद्युत परियोजनाको सहज रुपमा बीमा हुनुपर्ने हो । तर नभएको बताए । 

‘जलविद्युत व्यवसायीहरूले यो मुद्धालाई उठाएका छन् । जलविद्युतको राज्यको प्राथमिकतामा छ । जलविद्युतको सहज बीमा नहुँदा लगानी आकर्षित गर्न कठिन हुन्छ,’ उनले भने । 

यस्तै, नेपालको बीमा क्षेत्रलाई व्यवस्थित बनाउन प्राधिकरणले निरन्तर रुपमा सुधारको काम गरेको उनले बताए । ‘सुधार आजको भोलिमा नै हुँदैन । यो निरन्तर प्रक्रिया हो । हामीले त्यो प्रक्रियालाई निरन्तरता दिएका छौ,’ उनले भने । 

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् जीवन बीमा संघका अध्यक्ष पोषक पौडेलले नेपालमा जोखिमलाई हस्तान्तरण गर्ने अभ्यास नभएको बताए । ‘भौगोलिक र वातावरणीय दृष्टिकोणले पनि नेपाल उच्च जोखिममा छ । तर, नेपालमा जोखिम हस्तान्तरण गर्नुपर्छ भन्ने अभ्यास नै छैन,’ उनले भने । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम निर्जीवन बीमक संघका अध्यक्ष वीरेन्द्र वैदावरले जलविद्युत परियोजनाका लागि छुट्टै खालको बीमा पोलिसी आवश्यक रहेको बताए । ‘जलविद्युतका जोखिमहरु फरक खालका छन् । तसर्थ यसका लागि पोलिसी पनि फरक बनाउनु पर्छ,’ उनले भने । 

निर्माका अध्यक्ष रबिन्द्र घिमिरले निर्माले बीमा क्षेत्रको प्रवर्द्धनका लागि निरन्तर रुपमा काम गरेको बताए । कार्यक्रममा निर्माका कोषाध्यक्ष सुकल्याण पराजुलीले कार्यपत्र प्रस्तुत गरेका थिए ।