काठमाडौं । जेनजी आन्दोलनको क्रममा झन्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको होटल संघ नेपाल(हान)ले जनाएको छ । आज एक विज्ञप्तिमार्फत क्षतिको विवरण सार्वजनिक गरेको हो । संकलित प्रारम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति समेत गरी देशैभरी करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान रहेको हानले जनाएको छ ।
यसबाट प्रभावित सदस्य होटलहरु मर्मत संभार, पुनर्निर्माण नगरी संचालनमा आउन नसक्ने हुँदा करिब दुई हजारभन्दा बढी कामदार कर्मचारीको चाडपर्वको समयमा रोजिरोटीमा समेत प्रत्यक्ष प्रभाव परेको हानले जनाएको छ । हाल संचालन अवरुद्ध भएका यी होटलहरुले व्यहोर्नु पर्ने बैंक–वित्तीय संस्था लगायतका आर्थिक दायित्व नियमित रुपमा तिर्न बुझाउन असमर्थ रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
पब्लिक लिमिटेड कम्पनी सहितको निजी क्षेत्रका यस प्रकारको ठूलो लगानी र सम्पत्तिमा भएको पीडादायी क्षतिको यथाशीघ्र शक्तिशाली अधिकारप्राप्त न्यायायिक समितिबाट जाँचबुझ भई अपराधीलाई उचित क्षतिपूर्ति सहितको दण्ड हुन समेत गराउन माग गरेको छ । साथै मर्मत संभार पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्न पनि हानले माग गरेको छ ।
आर्थिकन्यूज
प्रतिक्रिया