शीर्षकहरू

बीमा पोलिसी सरेण्डर गर्दा हुन्छन् यस्ता बेफाइदा

बीमा पोलिसी सरेण्डर गर्दा हुन्छन् यस्ता बेफाइदा

काठमाडौं । कलंकीमा बस्ने सन्दिप शनिबार घुमघामका लागि सिन्धुपाल्चोकको भोटेचौर जाँदै थिए । बिहानको चर्को घाम, सडक सुनसान  । यत्ति भएपछि उनले सोचे, ‘आज त ट्राफिक पनि छैन, बाटो नि खाली छ, के हेलमेट लगाएर सास्ती गर्नु?’ अनि खोलिदिए हेलमेट  । हेलमेट बिना नै उनी भोटेचौर पुग्ने प्रयत्नमा थिए  । शितल पनि भइरहेको थियो उनलाई  । तर अचानक उनको मोटरसाइकल अनियन्त्रित हुन पुग्यो । उनको टाउको नजिकैको पोलमा बजारियो  । दुर्घटनामा उनी गम्भीर घाइते भए । उनको टाउकोमा गहिरो चोट लाग्यो । 

करिब तीन महिनाको निरन्तर उपचार पछि उनी तंङगरिए । त्यसपछि उनको सामान्य दैनिक सुरु भयो । त्यसपछि बल्ल उनले महशुस गरे, ‘मैले हेलमेट लगाएर मोटरसाइकल चलाएको भए टाउकोमा चोट नलाग्ने रहेछ  ।’ जीवन बीमासँग यो घटनाको कथा मिल्दो–जुल्दो छ  । 

धेरैले बीमा गरिरहेका हुन्छन् । तर कहिलेकाहीँ मनमा आउँछ, ‘अब त केही भएन, किन बीमामा पैसा राख्ने ?’ अनि मानिसले सरेण्डरको बारेमा सोच्ने गर्छन्  । तर त्यसपछि हुने अप्रत्याशित दुर्घटना, आय गुम्ने अवस्था—यी सबैले परिवार र भविष्यलाई गम्भीर संकटमा पार्न सक्छ  ।

अर्को पनि घटना हेरौँ, 

रामबहादुरले पाँच वर्षअघि आफ्नो परिवारको सुरक्षाको लागि जीवन बीमा गराएका थिए  । नियमित रूपमा प्रिमियम तिर्थे । जीवन सामान्य रुपमा चलिरहेकै थियो । पाँच वर्ष बिते । उनले आफूलाई कहिल्यै खासै संकट नआएको महसुस गर्न थाले । अन्ततः निर्णय गरे,‘अब त केही हुनेवाला छैन, किन बीमा गरिरहने ?’ अनि छिट्टै उनले पोलिसी सरेण्डर गरे ।

तर समयको नियम सरल हुँदैन । सरेण्डर गरेको केही महिनामै सवारी दुर्घटनामा उनको मृत्यु भयो । घरको कमाउने मान्छे नहुँदा उनको परिवारको जीवन कष्टकर बन्यो । उनको परिवारलाई बल्ल महशुस भयो,‘आज त्यो बीमा भए कति सहज हुन्थ्यो ।’

यही कथा हजारौँ मानिसको वास्तविकता हो । जीवनमा दशा कहिल्यै बाजा बजाएर आउँदैन । यो चुपचाप आउँछ, कहिलेकाहीँ त खतरनाक स्वरूपमा । त्यसैले, ‘केही वर्षसम्म केही भएन’ भनेर सरेण्डर गरिहाल्नु जोखिमपूर्ण निर्णय हो । जीवन बीमा भविष्यको अप्ठ्यारो समयको लागी बनाइएको ढाल हो, अहिलेको लागि होइन । जीवन बीमा गर्ने हर कोही बीमितले यो बुझ्नुपर्छ ।

सरेण्डरको अर्को पक्ष आर्थिक रूपमा पनि कठीन र हानिकारक हुन्छ । सुरुका वर्षमा बीमा पोलिसीको रकम धेरैजसो बीमाको सुरुआती खर्च, व्यवस्थापन शुल्क र जोखिम बीमामा जान्छ । त्यसैले सरेण्डर गर्दा ग्राहकले सोचेको जति रकम फिर्ता पाउँदैनन् । फेरि भविष्यमा बीमा गर्न चाहियो भने उमेर बढेको हुन्छ, स्वास्थ्य जोखिम पनि बढेको हुन्छ, जसले गर्दा पुनः बीमा गर्दा प्रिमियम दर महँगो हुन्छ । कहिलेकाहीँ त स्वास्थ्य समस्याका कारण बीमा गर्न नै नमिल्ने अवस्था आउन सक्छ । 

त्यसैले, बीमा पोलिसी सरेण्डर गर्नु भनेको केवल रकम झिक्ने प्रक्रिया होइन, भविष्यको सुरक्षा त्याग्ने निर्णय पनि हो । त्यो निर्णय नगर्नु नै उपयुक्त हुन्छ, जबसम्म त्यो साँच्चिकै अत्यावश्यक नभएको होस् । आजको सानो प्रिमियम भोलिको ठूलो जोखिम (दुर्घटना, मृत्यु, स्वास्थ्य खर्च) बाट बच्ने सुरक्षा कवच हो ।

बीमाः सुरक्षित भविष्यको ढाल

बीमा कुनै सामान होइन, जसको मूल्य तुरुन्त देखिन्छ । बीमा एक भरोसा हो—भविष्य सुरक्षित पार्ने एउटा अनुशासन हो । कुनै आपत् आएमा परिवारको आर्थिक जग नढलियोस् भनेर आजै बनाइएको सुरक्षा कवच हो । बीमालाई परिपक्व हुनुअघि सरेण्डर गर्नु भनेको त्यो सुरक्षा कवच आफैँ फाल्ने जस्तै हो । दुर्घटना, मृत्यु वा गम्भीर रोगजस्ता घटनाहरू कहिले, कसरी आउँछन् भन्ने भविष्यवाणी कसैले गर्न सक्दैन । त्यस्तोमा बीमा नहुँदा त्यसको असर केवल पीडितमा होइन, सम्पूर्ण परिवार, भविष्यका योजना र बच्चाको शिक्षासम्म असर गर्छ ।

बीमा अवधि सकिनु अगावै पोलिसी सरेण्डर गर्दा रकम धेरै फिर्ता हुँदैन । अहिले बीमा प्राधिकरणले बीमा गरेको कम्तीमा तीन वर्षसम्म बीमा पोलिसी सरेण्डर गर्न नपाउने व्यवस्था समेत गरेको छ ।

अवधि पूरा नहुँदै बीमा पोलिसी सरेण्डर गर्दा त्यसको आर्थिक लाभ पनि धेरै पाउन सकिँदैन । किनकी त्यसको प्रिमियमको धेरैजसो हिस्सा जोखिम शुल्क, व्यवस्थापनमा खर्च हुन्छ  । सरेण्डर गरेपछि बोनस पाउन पनि सकिँदैन । 

अप्ठ्यारो पोलिसी धिताे राखेर लिन सकिन्छ कर्जा 

आफुलाई आर्थिक रुपमा निकै गाह्रो परेको छ भने बिमितले बीमा सरेण्डर नगरी ‘पोलिसी कर्जा’ लिएर सहजै खर्च चलाउन पनि सकिन्छ । कर्जा लिने उपाय सरेण्डर गर्नुभन्दा निकै नै सहज र उत्तम उपाय पनि हो । पोलिसी कर्जा लिनु सुरक्षित, सस्तो र बुद्धिमानीपूर्ण विकल्प हो ।

बीमा सरेण्डर गर्दा ग्राहकले पोलिसीमा हालसम्म जम्मा भएको रकममध्ये नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको नियमअनुसार केही हिस्सा फिर्ता पाउँछ । त्यससँगै बिमितले बीमालेखको अवधि समाप्त गर्ने समय पनि रहन्छ । यस्तै भविष्यमा हुने बोनस वा लाभ लिनबाट पनि बञ्चित हुनुपर्दैन भने बीमाले दिने सुरक्षा पनि हट्दैन । अझ, पुनः बीमा गर्न खोज्दा उमेरको आधारमा प्रिमियम महँगो पर्न सक्छ ।  त्यसैले पोलिसी कर्जा लिएर गर्जो टार्ने तर्फ बिमितले सोच्नु बढी उपयुक्त र बुद्धिमानी हुन्छ । बीमा योजनाको अवधि, जम्मा रकम र बोनसका आधारमा बीमा कम्पनीले ग्राहकलाई कर्जा प्रदान गर्छ ।

बीमालेखबाट कर्जा लिँदा पोलिसी कायम रहिरहन्छ भने बोनस, सुरक्षा र म्याच्योरिटी लाभ पनि यथावत् रहन्छ ।  कर्जा लिन बैंकजस्तो धितो वा सिफारिस आवश्यक पर्दैन । कर्जा लिने प्रक्रिया छिटो र सजिलो हुन्छ । त्यसकारण पनि बिमितले पोलिसी सरेण्डर गर्ने तर्फ भन्दा पोलिसी कर्जा लिने र आर्थिक समस्या टार्ने काम गर्नु लाभदायक हुन्छ ।