काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको लाइसेन्स नवीकरणका लागि निर्देशन जारी गरेको छ । सोमबार एक सूचनात्मक निर्देशन जारी गर्दै प्राधिकरणले नविकरणको प्रक्रिया र शुल्कको बारेमा जानकारी दिएको हो ।
जस अनुसार जीवन बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न एक वटा बीमालेखमा नघट्ने गरी कम्तीमा एक प्रतिशत बीमालेख नवीकरण भएको प्रमाण पेश गर्नुपर्नेछ । यसैगरी, आईआरएमआईएस प्रणालीमा बीमा अभिकर्ताको व्यक्तिगत विवरण स्पष्ट र बुझिने कागजात अपलोड गरी अद्यावधिक गर्नुपर्नेछ ।
अभिकर्ताको इजाजतपत्र नवीकरणको लागि एक हजार रुपैयाँ तथा नियमन दस्तुर पाँच सय रुपैयाँ गरी जम्मा पन्ध्र सय रुपैयाँ मात्र लाग्नेछ प्राधिकरणले स्पस्ट पारेको छ ।
त्यसैगरी, इजाजतपत्रको अवधि भित्र नवीकरण गर्न नसकेका बीमा अभिकर्ताले म्याद सकिएको अवधिदेखि तीन महिना भित्र विलम्ब शुल्क एक हजार रुपैयाँ मात्र भुक्तानी गरी निवेदन पेश गर्न सक्नेछन् भने म्याद सकिएको अवधिदेखि तीन महिना भित्र इजाजतपत्र नवीकरणको लागि निवेदन पेश नगर्ने बीमा अभिकर्ताको इजाजतपत्र स्वतः खारेज हुनेछ।
आर्थिकन्यूज