शीर्षकहरू

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्चमा अख्तियार

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्य प्रसाद सिलवाललाई सफाई दिने विशेष अदालतको फैसला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वाेच्च अदालत गएको छ । 

नागरिकता किर्ते गरेर सरकारी पदको लाभ लिएको मुद्धामा विशेष अदालतले २०८१ पुष २ गते गरेका फैसलाबाट सिलवाललाई सफाई दिएकोले फैसलाउपर चित्त नबुझेको भन्दै अख्तियारले सर्वाेच्चमा पुनरावेदन दिएको छ । आज बुधबार उक्त फैसला विरुद्धमा अख्तियारले सर्वाेच्चमा मुद्धा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

सिलवालले प्राधिकरणको अध्यक्षमा राष्ट्रसेवकको रुपमा नियुक्ति पाउन आफ्नो जन्म मिति २०१५ साउन १५ गते हो भन्ने कुराको प्रष्ट जानकारी हुँदा हुँदै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतमा आफ्नो जन्म २०१६ कार्तिक २२ गते हो भनी पछिबाट लिएको नागरिकताको प्रमाणपत्र पेस गरेको, उमेर ढाँटी झुट्टा विवरणको वैयक्तिक विवरण पेस गरी प्राधिकरणको अध्यक्षको ओहदामा बहाल रहन नपाउनेमा बहाल रहेको, आफ्नो उमेर ढाँटी मिति २०१८ कार्तिक २४ गतेको जन्म मिति कायम गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागमा करिव ३ वर्ष उमेर घटाई झुट्टा विवरणका फाराम लगायतका कागजात पेस गरी कुटनीतिक राहदानी र विशेष राहदानी प्राप्‍त गरी उक्त राहदानी प्रयोग प्रचलनमा ल्याई लाभ, सुविधा प्राप्‍त गरेको अख्तियारको आरोप छ । 

यसरी उनले ३६ लाख ६२ हजार रूपैयाँ लाभ सुविधा लिएको र कसूरदारबाट पीडित राहतकोषमा क्षतिपूर्ति शुल्क जम्मा गराई पाउन समेतको माग दाबी लिई विशेष अदालत अख्तियारले मुद्धा दायर गरेको हो ।