काठमाडौं । नेपाल बीमा प्राधिकरणमा व्यवस्थापन पक्ष निष्क्रिय भएकाे भन्दै कर्मचारीहरूले सात दिने अल्टिमेटम जारी गरेका छन्। माग निरन्तर पेश गरिरहँदा पनि २१ दिनसम्म कुनै सार्थक पहल नदेखिएको आरोप लगाउँदै उनीहरूले मंसिर २८ देखि चरण बद्ध हड्ताल सुरु गर्ने चेतावनी दिएका हुन्।
कर्मचारी युनियनका अध्यक्ष प्रेम हरि पोखरेल र संगठनका अध्यक्ष दीपक ज्ञवालीले संयुक्त रूपमा जारी गरेको अल्टिमेटमअनुसार, वृत्ति विकास, पदपूर्ति, सेवा–सुविधा र संस्थागत संरचनासम्बन्धी मुद्दामा उच्च व्यवस्थापन मौन बसेको कारण हड्ताल अपरिहार्य भएको उल्लेख छ।
यसअघि प्राधिकरणको सञ्चालक समितिबाट स्वीकृत भई मन्त्रालय पुगेको नयाँ दरबन्दी र सेवा–सुविधा संरचना लागू नगर्नु, पदपूर्तिको प्रक्रिया अलपत्र पार्नु तथा प्राविधिक समूहका लागि आवश्यक जनशक्ति सुनिश्चित गर्ने नीति नसच्याउनु व्यवस्थापनको ‘गंभीर असक्षमता’ को उदाहरण भएको कर्मचारीहरूको भनाइ छ।
कर्मचारीले प्राविधिक पदमा खुला प्रतिस्पर्धाबाट योग्य जनशक्ति नआउने, कर्मचारी विनियमावलीमा प्राविधिक–प्रशासनिक वर्गीकरण अस्पष्ट रहने, प्रदेश सरुवा तथा भौगोलिक शाखा व्यवस्थापन अनियमित हुने लगायत समस्या व्यवस्थापनले बेवास्ता गरेको आरोप लगाएका छन्। साथै उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धा र कार्य–सम्पादन मूल्यांकनमार्फत मात्र पदपूर्ति गर्न माग गरिएको छ।
यस्तै, कर्मचारी गुनासा, सिकाइ–अवसर, कार्य वातावरण तथा मनोबलसम्बन्धी व्यवस्था नवीकरण गर्नुपर्ने, सिफारिस समितिमा कर्मचारी प्रतिनिधिको भूमिका अनिवार्य बनाउनुपर्ने र निर्देशक पदमा अधिकतम सेवा अवधि सीमा तोक्नुपर्ने माग छ।
कर्मचारीहरूले उत्तराधिकारी योजना तत्काल लागू गर्ने तथा प्राधिकरणको समग्र रिइन्जिनियरिङका लागि अन्तर्राष्ट्रियस्तरको संस्थागत सुधार प्रक्रिया अपनाउनुपर्ने पनि उल्लेख गरेका छन्।
सात दिनभित्र समाधान नआए प्राधिकरणको नियमित सेवा बाधित हुने परिस्थितिको चेतावनीसहित कर्मचारीहरूले व्यवस्थापनलाई अन्तिम पटक वार्तातर्फ फर्किन आग्रह गरेका छन्।
आर्थिकन्यूज