काठमाडौं । हिमालयन गार्जियन नेपाल र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले नेपालमा पहिलो पटक विदेशी पदयात्रीका लागि टूर प्याकेज बीमा पोलिसी विक्री गर्ने भएका छन् । पदयात्राका क्रममा हुन सक्ने सम्भावित जोखिमबाट विदेशी पर्यटकलाई रक्षावरण गर्ने उद्देश्यसहित कम्पनीले यस्तो पोलिसी ल्याउन लागेको हो ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निर्माण गरेको उक्त पोलिसी नेपालमा हिमालयन गार्जियन नेपालले विक्री गर्ने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका कानुन प्रमुख अधिकारी प्रकाश कोइरालाले जानकारी दिए ।
हाल नेपालमा पदयात्राका लागि आउने विदेशी पर्यटकको बीमा विदेशी मुलुकमै अवस्थित बीमा कम्पनीहरूले गर्ने अभ्यास रहेको छ । बीमित पदयात्रीको बीमा दाबी भुक्तानी विदेशी बीमा कम्पनीले नेपाली उद्धार कम्पनी लगायतका निकायलाई सिधै भुक्तानी गर्ने प्रचलन छ। यसका कारण नेपालमा झुठा दाबीको संख्या उल्लेखनीय रूपमा बढेको हिमालयन गार्जियन नेपालका नायब प्रमुख कार्यकारी अधिकृत श्रीहरी आचार्यले बताए ।
उनका अनुसार नेपालमा झुठा दाबी बढ्दै गएपछि विदेशी बीमा कम्पनीहरूले पदयात्रा बीमाको बीमाशुल्क समेत वृद्धि गरेका छन् । त्यसको प्रत्यक्ष असरस्वरूप नेपाल पदयात्रामा आउने विदेशी पर्यटकको समग्र भ्रमण खर्च बढेको उनले उल्लेख गरे ।
यही अवस्थालाई मध्यनजर गर्दै विदेशी पर्यटकलाई न्यून शुल्कमा बीमा सुविधा उपलब्ध गराउन तथा झुठा दाबीलाई निरुत्साहित गर्न हिमालयन गार्जियन नेपालले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा पदयात्रा बीमा पोलिसी विक्री गर्न लागेको आचार्यले बताए ।
उनका अनुसार कम्पनीले तीन प्रकारका बीमा पोलिसी विक्री गर्नेछ । जसअन्तर्गत टूर प्याकेज बीमा, ट्रेकिङ बीमा र क्लाइम्बिङ बीमा पोलिसी समावेश छन् ।
टूर प्याकेज बीमा पोलिसीको बीमाशुल्क १६ अमेरिकी डलर तोकिएको छ । यो पोलिसी ३ हजार ५ सय मिटरसम्म पदयात्रा गर्ने विदेशी पर्यटकले खरिद गर्न सक्नेछन् । पदयात्राका क्रममा दुर्घटनाबाट मृत्यु भएमा वा असक्षमता भएमा ३५ हजार अमेरिकी डलर भुक्तानी गरिनेछ । दुर्घटनाबाट घाइते भई उपचार गर्नुपरेमा ३ हजार ५ सय अमेरिकी डलरसम्म, उद्धारका लागि ३ हजार ५ सय अमेरिकी डलर तथा पर्यटकलाई सम्बन्धित मुलुकमा फिर्ता गर्नुपरेमा २ हजार अमेरिकी डलरसम्म भुक्तानी गरिने व्यवस्था गरिएको छ । उक्त पोलिसीको अवधि १४ दिनको हुनेछ ।
ट्रेकिङ बीमा पोलिसीको बीमाशुल्क १५० देखि ३०० अमेरिकी डलरसम्म तोकिएको छ । पोलिसीको अवधि १४ देखि २८ दिनसम्म रहनेछ । ५ हजार ५ सय मिटरसम्मको पदयात्रामा जाने विदेशी पर्यटकले यो पोलिसी खरिद गर्न सक्नेछन् । पदयात्राका क्रममा दुर्घटनाबाट मृत्यु भएमा वा असक्षमता भएमा ३५ हजार अमेरिकी डलर भुक्तानी गरिनेछ । दुर्घटनाबाट घाइते भई उपचार गर्नुपरेमा ३ हजार ५ सय अमेरिकी डलर, उद्धारका लागि ४ हजार ५ सय अमेरिकी डलर तथा स्वदेश फिर्ता गराउनुपरेमा २ हजार अमेरिकी डलर भुक्तानी गरिनेछ ।
यस्तै, क्लाइम्बिङ बीमा पोलिसीको बीमाशुल्क ५ सय अमेरिकी डलर तोकिएको छ । पोलिसीको अवधि ६० दिनको हुनेछ । यो पोलिसीले ६ हजार मिटरसम्मको पदयात्रामा जाने यात्रीको जोखिम रक्षावरण गर्नेछ । पदयात्राका क्रममा दुर्घटनाबाट मृत्यु भएमा वा असक्षमता भएमा १७ हजार ५ सय अमेरिकी डलर भुक्तानी गरिनेछ । दुर्घटनाबाट घाइते भई उपचार गर्नुपरेमा ३ हजार ५ सय अमेरिकी डलर, उद्धारका लागि ६ हजार अमेरिकी डलर तथा स्वदेश फिर्ता गराउनुपरेमा २ हजार अमेरिकी डलर भुक्तानी गरिने व्यवस्था छ।
पदयात्रामा जाने बीमित पर्यटकलाई हिमालयन गार्जियन नेपालले २४ घण्टा ट्र्याकिङ गर्ने जनाएको छ । यसका लागि कम्पनीले बीमित पदयात्रीलाई जिपिएस ट्रेसर उपलब्ध गराइनेछ । पदयात्राका क्रममा कुनै समस्या परेमा बीमित पदयात्रीले जिपिएस ट्रेसरको बटन थिच्नुपर्नेछ । बटन थिच्नेबित्तिकै कम्पनीले उद्धार टोली परिचालन गर्नेछ ।
विदेशी पदयात्रीले समस्या परेको जानकारी दिएको ३० मिनेटभित्र उद्धार प्रक्रिया सुरु गरिने कम्पनीले दाबी गरेको छ ।
आर्थिकन्यूज