शीर्षकहरू

रिलायन्स स्पिनिङको नाफा २७ प्रतिशत घट्यो, प्रशासनिक खर्च बढ्दा दबाब

रिलायन्स स्पिनिङको नाफा २७ प्रतिशत घट्यो, प्रशासनिक खर्च बढ्दा दबाब

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.२४ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिसम्म कम्पनीले १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीले बिहीबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल आम्दानी ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ४ अर्ब ८४ करोड रुपैयाँभन्दा कम हो। अन्य आम्दानी पनि २ करोड ३३ लाख रुपैयाँबाट घटेर १ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ।

सञ्चालन आम्दानी १.१० प्रतिशतले घटेको छ भने कुल नाफा ८.८२ प्रतिशतले खुम्चिएको छ। सञ्चालन मुनाफा २७.६१ प्रतिशतले घट्दा वित्तीय खर्च भने ३२.४२ प्रतिशतले कमी आएको छ।

प्रशासनिक तथा अन्य खर्च उल्लेख्य रूपमा बढेर १३ करोड ५५ लाख रुपैयाँबाट १९ करोड ९९ लाख रुपैयाँ पुगेपछि नाफामा दबाब परेको कम्पनीले जनाएको छ। यद्यपि बिक्री तथा वितरण खर्च ८ करोड ९५ लाख रुपैयाँबाट घटेर ८ करोड ६६ लाख रुपैयाँमा झरेको छ भने वित्त खर्च पनि २४ करोड ३६ लाख रुपैयाँबाट घटेर १६ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ।

दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४७ पैसामा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ७ रुपैयाँ ६६ पैसा कम हो। प्रतिसेयर नेटवर्थ ४९० रुपैयाँ ५४ पैसा कायम भएको छ।

१ अर्ब ९० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको अन्य इक्विटी ७ अर्ब ४२ करोड रुपैयाँ छ। समीक्षा अवधिसम्म कुल चालु सम्पत्ति ५ अर्ब ८ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। तरलता अनुपात २.१७ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७६६ रुपैयाँ ७८ पैसा रहेको छ।

तीन दशकअघि स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सले सुनसरीको दुहबी र खनारस्थित उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक तथा टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ। उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्की लगायत मुलुकमा निर्यात हुने गरेको छ। कम्पनीले वार्षिक करिब ५ करोड अमेरिकी डलर बराबर निर्यात गर्दै आएको जनाएको छ।

हालै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको कम्पनीमा २१ हजार ८०७ सेयरधनी रहेका छन्। सेयर बाँडफाँट सम्पन्न भइसकेको र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण प्रक्रिया अघि बढिरहेको कम्पनीले जनाएको छ।