काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत नेपालले आज समूह ‘सी’ मा आफ्नो दोस्रो खेल इटालीविरुद्ध खेल्दैछ। इटालीविरुद्ध नेपाली टोलीले पहिले ब्याटिङ गर्ने भएको छ। मुम्बइको वानखेडे स्टेडियममा इटालीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।
नेपालले इटालीविरुद्धको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। शेर मल्लको स्थानमा ललित राजवंशी प्लेइङ ११ मा आएका छन्। ललित विश्वकपमा डेब्यु गर्न लागेका हुन्।
दुवै टोली पहिलो खेलमा पराजित भएकाले सुपर–८ को सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाबमा छन्।
नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो। त्यसैले यो खेल दुवैका लागि ‘गर या मर’ को अवस्थामा पुगेको छ।
नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी छन्।
इटालीका लागि एन्थोनी मोस्का, जस्टिन मोस्का, जे जे स्मुट्स, ह्यारी मानेन्टी, बेन्जामिन मानेन्टी, मार्कस क्याम्पोपियानो, ग्रान्ट स्टुअर्ट, जियन–पिएरो मीड, जसप्रीत सिंह, क्रिशन कलुगामागे र अली हसन मैदान उत्रिएका छन्। चोटका कारण नियमित कप्तान वेन म्याडसन भने अनुपस्थित छन्।
वानखेडेमा यसअघि इंग्ल्यान्डविरुद्ध हाइस्कोरिङ खेल खेलेको नेपाललाई पिच र अवस्थाबारे अनुभवको लाभ हुन सक्छ। कप्तान रोहित पौडेलले मुम्बईमा खेल्नु फाइदाजनक भएको बताएका छन्। इटाली भने कोलकाताको इडेन गार्डेनबाट मुम्बई आइपुगेको हो र उसले अभ्यास सत्र वानखेडेमा नगरी डिवाइ पाटिल रंगशालामा गरेको थियो।
रोहितले इटालीलाई कमजोर नठान्न आग्रह गर्दै आफूहरू योजनाअनुसार मैदान उत्रने बताएका छन्। इटालीका प्रशिक्षक जोन डेभिसनले पनि नेपालविरुद्धको खेल चुनौतीपूर्ण हुने बताउँदै जितका लागि खेल्ने बताएका छन्।
नेपाल र इटालीबीच टी–२० मा यो पहिलो भेट हो। यद्यपि ५० ओभरको खेलमा तीन पटक भेट हुँदा नेपालले सबै खेल जितेको थियो। सन् २००५ मा शक्ति गौचनले नटआउट १०६ रन बनाउँदै नेपाललाई जित दिलाएका थिए।
नेपालले सन् २०१४ विश्वकपमा अफगानिस्तानलाई हराएयता विश्वकपमा जित निकाल्न सकेको छैन। त्यसैले १२ वर्षपछि विश्वकपमा जितको स्वाद चाख्ने अवसरका रूपमा आजको खेललाई हेरिएको छ।
ब्याटिङमा कुशल भुर्तेल र आसिफ शेखबाट राम्रो सुरुआतको अपेक्षा गरिएको छ भने मिडल अर्डरमा कप्तान रोहित र अलराउन्डर दीपेन्द्रसिंह ऐरी मुख्य भर हुन्। बलिङतर्फ सन्दीप लामिछानेको लेग–स्पिन र करण केसी तथा नन्दन यादवको तीव्र गतिले टोलीलाई बलियो बनाएको छ।
विश्वकप यात्रालाई निरन्तरता दिन आजको खेल नेपालका लागि निर्णायक बन्नेछ।

आर्थिकन्यूज