शीर्षकहरू

बैंकको ब्याजदर घट्दा जीवन बीमाको नाफामा असर

५ कम्पनीको नाफामा भारी गिरावट, ९ कम्पनीको बढ्यो

बैंकको ब्याजदर घट्दा जीवन बीमाको नाफामा असर

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासमा जीवन बीमा क्षेत्रको नाफा घटेको छ । यस अवधिमा जीवन बीमा कम्पनीहरूको नाफा ४.७२ प्रतिशतले घटेको हो । 

यस अवधिमा १४ वटा जीवन बीमा कम्पनीले ३ अर्ब ३२ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा ३ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । चालु आवको पौष मसान्तसम्म ५ जीवन बीमा कम्पनीको नाफा घटेको छ । ९ कम्पनीको नाफा बढेको पनि समग्र जीवन बीमा क्षेत्रको नाफा भने बढ्न सकेन । 

यी ५ कम्पनीको नाफा घट्यो 

राष्ट्रिय जीवन बीमा कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ, मेट लाइफ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा घटेको हो । 

जहाँ राष्ट्रिय जीवन बीमाको नाफा ५२.५० प्रतिशतले घटेको छ । गत आवको पौष मसान्तसम्म ८० लाख रुपैयाँ नाफा आर्जन गरेको यस कम्पनीले चालु आवको सोही अवधिमा ३८ लाख रुपैयाँ मात्रै कमाएको छ । 

हिमालयनको नाफा ४५ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनामा ३७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको यो कम्पनीले यस वर्षको सोही अवधिमा भने २० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, नेपाल, प्रभु महालक्ष्मी र मेट लाइफको नाफा क्रमशः २७.४५, २७ र ८.५४ प्रतिशतले घटेको हो । 

यसरी जीवन बीमा क्षेत्रको नाफा घट्नुको विभिन्न कारणहरू रहेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल बताउँछन् । त्यसमध्ये बैंकको ब्याजदर मुख्य कारण रहेको उनको भनाई छ । सीईओ दाहालका अनुसार जीवन बीमा कम्पनीहरूको ७३ प्रतिशत बढी लगानी बैंकको मुद्दती निक्षेपमा रहेको छ । चालु आवको पौष मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ६ खर्ब रुपैयाँ बढी बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा राखेका छन् । यसरी ठूलो रकम मुद्दतीमा राख्दा त्यसबाट आउने प्रतिफलले नाफामा प्रभाव पार्छ । 

विगतको केही वर्षयता बैंकको ब्याजदर लगातार घटिरहेको छ । पछिल्लो एक वर्षमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर ४.७५ प्रतिशतबाट ३.५६ प्रतिशतमा झरेको छ । यसैगरी, विकास बैंकको ५.५६ बाट ४.०६ प्रतिशतमा र फाइनान्स कम्पनीको ६.६६ बाट ५.५७ प्रतिशतमा झरेको छ । यसरी ब्याजदर घट्दा मुद्दतीबाट आउने प्रतिफल घटेको र त्यसले नाफामा असर पुर्याएको सीईओ दाहाल बताउँछन् । 

null

९ कम्पनीको नाफा बढ्यो

लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी नेपाल) को नाफा ५८.४३ प्रतिशतले बढ्दा सानिमा रिलायन्स लाइफको १९.२१, रिलायबल नेपाल लाइफको १३, एशियन लाइफको ५.२७,  सुर्यज्योति लाइफको २.९१, नेशनल लाइफको २.७६, सन नेपाल लाइफको १.१३, आइएमई लाइफको १ र सिटिजन लाइफको ०.२६ प्रतिशतले नाफा वृद्धि भएको छ । 

धेरै नाफा आर्जन गर्नेमा रिलायबल अगाडी 

यस अवधिसम्म धेरै नाफा आर्जन गर्नेमा रिलायबल नेपाल अगाडी रहेको छ । यस कम्पनीले सबैभन्दा धेरै ३९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

यसैगरी, नेपाल लाइफले ३३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्दै दोस्रो स्थान हालिस गरेको छ भने तेस्रोमा नेशनल लाइफ र चौथोमा सन नेपाल रहेको छ । जहाँ नेशनलले २८ करोड ६८ लाख कमाउँदा सन् नेपालले २८ करोड ५४ लाख रुपैयाँ कमाएको छ । 

null