काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात तथा बिक्री–वितरण नियमित र सहज रूपमा भइरहेको जनाएको छ। उपभोक्ताले अनावश्यक रूपमा पेट्रोलियम पदार्थ भण्डारण नगर्न पनि निगमले आग्रह गरेको छ।
सोमबार निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पाइपलाइनमार्फत् पेट्रोलियम पदार्थको आयात निरन्तर भइरहेकाले अभावको अवस्था नरहेको स्पष्ट पारे। उनले आसन्न निर्वाचन अवधिमा समेत पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आयात जारी रहने बताए।
भट्टले पेट्रोलियम पदार्थ ड्रम वा जेरी क्यानमा भरेर स्टोर गर्दा आगलागी जस्ता दुर्घटनाको जोखिम बढ्ने चेतावनी दिए। सम्भावित आगजन्य दुर्घटना न्यूनीकरणका लागि ड्रम वा क्यानमा पेट्रोलियम पदार्थ भर्न निषेध गरिएको उनले जानकारी दिए। निगमले सर्वसाधारणलाई आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न र अनावश्यक रूपमा भण्डारण नगरी सुरक्षित प्रयोग गर्न आग्रह गरेको छ।
आर्थिकन्यूज