शीर्षकहरू

कर्मचारी अभावबीच हेटौँडा वर्कसपले सात महिनामा ९०० ट्रान्सफर्मर मर्मत

कर्मचारी अभावबीच हेटौँडा वर्कसपले सात महिनामा ९०० ट्रान्सफर्मर मर्मत

काठमाडौं । कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर्मर मर्मत गरेको छ ।

कार्यालय प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आव २०८२र८३ को साउनदेखि हालसम्म वर्कसपमा विभिन्न जिल्लाबाट बिग्रिएर आएका ती ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाइएको हो ।

गत आव २०८१र८२ मा एक हजार नौ सय ५० थान ट्रान्सफर्मर मर्मत गरेको सो वर्कसपले चालु आवमा एक हजार ५०० को हाराहारीमा ट्रान्सफर्मर मर्मत गर्ने लक्ष्य लिएको प्रमुख श्रेष्ठले बताए ।

‘हामीसँग चाहिने जति जनशक्ति छैन, केही समय ट्रान्सफर्मरमा प्रयोग हुने तेल र तामाको मूल्य बढेर आपूर्तिका लागि ‘टेन्डर’ हुन नसक्दा मर्मतको काम रोकियो’, उनले भने, ‘पछिल्लो दुई महिनादेखि ट्रान्सफर्मर मर्मतको काम भइरहेको छ । लक्ष्य भेटाउने गरी काम गर्छौं ।’


उक्त वर्कसपले मधेस प्रदेश, गण्डकीका सबै जिल्ला तथा बाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली जिल्लामा जडान भएका ट्रान्सफर्मर मर्मत गर्दै आएको छ । कुल ४९ जना जनशक्तिको दरबन्दी रहेको वर्कसपमा हाल २९ जना स्थायी, १५ जना ज्यालादारी र आठ जना करारका कर्मचारी कार्यरत छन् ।

प्रमुख श्रेष्ठका अनुसार कार्यालयमा माथिल्लो तहको जनशक्ति भए पनि हेल्पर, जुनियर हेल्परको अभाव छ । ‘ट्रान्सफर्मर खोल्न र लगाउन हेल्पर र जुनियर हेल्पर आवश्यक हुन्छ, ती कर्मचारी हामीसँग तीन जना मात्रै छन् ।  त्यसैले काम गर्न समस्या भइरहेको छ ।’

ट्रान्सफर्मर मर्मतको सङ्ख्या र दायित्व बढे पनि पुरानै दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन हुँदा सोचेअनुसार काम गर्न समस्या रहेको उहाँले बताउनुभयो । जनशक्ति व्यवस्थापनका लागि केन्द्रमा पटक पटक पत्राचार गरे पनि खासै उपलब्धि नभएको श्रेष्ठको भनाइ छ ।

उनका अनसार हाल यहाँ महिनामा एक सय ५० देखि दुई सयसम्म ट्रान्सफर्मर मर्मत भइरहेका छन् । ‘मुलुकमा खाना पकाउने ग्यासको अभाव भइरहेको छ, यस्तो अवस्थामा विद्युतीय चुलोको प्रयोग बढ्न सक्छ र गर्मी पनि बढ्ने भएकाले अत्यधिक सङ्ख्यामा ट्रान्सफर्मर बिग्रिन सक्ने सम्भावना छ’, प्रमुख श्रेष्ठले भने, ‘जनशक्ति नबढाइए समयमा ट्रान्सफर्मर गर्न कठिनाइ हुनसक्छ, यसमा केन्द्रको ध्यानाकर्षण गराइरहेका छौँ ।’