काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। मागभन्दा बढी आवेदन परेपछि कम्पनीले बैंकिङ समयपछि नै निष्काशन बन्द गर्ने जनाएको छ, यद्यपि यसअघि चैत १ सम्म म्याद थप गरिएको थियो।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा ५ लाख ५० हजार कित्ता शेयर दोलखाको बिगु नगरपालिका–८ तथा कालिन्चोक गाउँपालिका–१ र २ का स्थानीय बासिन्दाका लागि बिक्री खुला गरेको हो।
यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसको कुल लागत करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ। उक्त आयोजनाको लगानी फिर्ता हुने साधारण अवधि ९.१९ वर्ष रहेको बताइएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित विभिन्न बैंक तथा कम्पनीका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आर्थिकन्यूज