काठमाडौं । बेनी हाइड्रोपावरले आज चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन खुला गरेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो। त्यसमध्ये १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यो शेयर सोलुखुम्बु जिल्लाका विभिन्न प्रभावित वडाका स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ।
यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १ लाख ४ हजार कित्ता (१० प्रतिशत) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत १५ र ढिलोमा चैत ३० सम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ५ र ढिलोमा चैत १५ सम्म आवेदन दिन सकिनेछ।
कम्पनीले सञ्चालन गरिरहेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजनाको अनुमानित लागत करिब ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। आईपीओको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
आर्थिकन्यूज