काठमाडौं । सानिगाड हाइड्रोले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको हो। त्यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको छ।
अति प्रभावित क्षेत्र बझाङको बुंगल नगरपालिका वडा नं १, २ र ४ का बासिन्दालाई १८ लाख ५२ हजार ५०० कित्ता र बाँकी ९ लाख ९७ हजार ५०० कित्ता वडा नं ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दालाई बाँडफाँट गरिनेछ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा चैत २२ र ढिलोमा वैशाख ७ सम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ११ र ढिलोमा चैत २२ सम्म आवेदन दिन सकिनेछ।
कम्पनीले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको अनुमानित लागत करिब ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ।
आर्थिकन्यूज