काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा सुवर्ण योजना’को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरेको छ। क्यापिटलले फागुन २८ गतेदेखि निष्कासनमा ल्याएको उक्त योजनामा आवेदन दिने अवधि अब चैत १२ गतेसम्म कायम रहने जनाएको हो।
योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ। क्यापिटलले पहिलो चरणमा ५० करोड रुपैयाँ बराबरका ५ करोड इकाई निष्कासन गरेको छ।
निष्कासित इकाईमध्ये ९० लाख इकाई कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई र ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरिएको छ। बाँकी ३ करोड ५० लाख इकाई सर्वसाधारणका लागि प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा बिक्रीमा ल्याइएको छ।
यो खुलामुखी योजना भएकाले बाँकी इकाई सामूहिक लगानी कोषसम्बन्धी नियमावलीअनुसार योजना व्यवस्थापकले तोकेको वितरण प्रणालीमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिने क्यापिटलले जनाएको छ।
उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरो सेयर वेब तथा मोबाइल एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आर्थिकन्यूज