शीर्षकहरू

'चुक्ता पुँजी नपुर्‍याउने बीमा कम्पनीबारे ठोस निर्णय हुन्छ, मर्जरले कुनै समस्या पारेको छैन'

'चुक्ता पुँजी नपुर्‍याउने बीमा कम्पनीबारे ठोस निर्णय हुन्छ, मर्जरले कुनै समस्या पारेको छैन'

दुई दशकभन्दा बढी समयदेखि बीमा प्राधिकरणमा कार्यरत राजु रमण पौडेल अहिले कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । नेपालको बीमा क्षेत्रलाई गहिरोसँग बुझेका उनी बीमा कम्पनीको नियामक निकायको संरचनामा अध्यक्षपछि दोस्रो वरियतामा रहेका छन् । उनले पछिल्लो समय निकै चर्चामा रहेको लघुबीमा, बीमा कम्पनीहरूको मर्जर र चुक्ता पुँजीको विषयदेखि नेपालको बीमा क्षेत्रका विविध विषयमा नियामक निकायको आधिकारिक धारणा सार्वजनिक रूपमा विगत देखी नै राख्दै आएका छन् । प्रस्तुत छ, उनै निर्देशक पौडेलसँग आर्थिक न्युजका इन्द्र बानियाँले उल्लेखित समसामयिक विषयमा गरेको संवादको सम्पादित अंश :

बीमा क्षेत्रको मर्जर सफलतालाई कसरी लिनुभएको छ ?

सबैभन्दा सुरुवातमा त हामीले बीमा कम्पनीहरूलाई चुक्ता पुँजी बढाउन भन्यौँ । बीमा कम्पनीहरूमा लगानी गर्ने लगानीकर्ताहरूलाई नै बोलाएर हामीले तपाइहरूको कम्पनीको चुक्ता पुँजी वृद्धि गर्नुपर्छ भनेर निर्देशन दिएका थियौँ । उनीहरूलाई हामीले अहिले भइरहेको पुँजीले बजारमा धान्न सक्दैन पनि भनेका थियौँ ।

हामीले तोकको चुक्ता पुँजी पुर्‍याउनका लागि धेरै कम्पनीहरू मर्जरमा गएर आफ्नो कम्पनीको पुँजी वृद्धि गर्नतर्फ लागे । यो नै सबैभन्दा ठूलो सफलता मान्नुपर्छ । यसमा प्राधिकरण सफल भएको पनि छ ।

बीमा कम्पनीहरू मर्जरमा गएपछि नै बीमा बजारले गति लिएको छ । यसअघि बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि रहेको थियो । ग्रामीण क्षेत्र लगायत जानुपर्ने ठाउँमा नजाने, सहर बजारमा नै बसेर व्यवसाय विस्तार गर्ने र त्यही एकै ठाउँमा सबैले प्रतिस्पर्धा गर्नेमा कम्पनीहरू केन्द्रित भएका थिए ।

बीमा कम्पनीहरूको व्यवसाय सहरमा मात्रै केन्द्रित हुनुको कारण पुँजी कम भएर नै हो त ?

एकातर्फ हेर्दा यो पनि कारण हो । एकै ठाउँमा अस्वस्थ प्रतिस्पर्धा भयो । जसले गर्दा नै हामीले पुँजी बढाउनका लागि निर्देशन दिएका हौँ । मर्जरपछि कम्पनीहरूले आफ्नो सेवालाई विस्तार गरेका छन् । अबका वर्षहरूमा थप विस्तार हुन्छ भन्नेमा आशावादी छौँ ।

बैंकहरूको जस्तो बीमाको मर्जरको प्राक्टिस त्यति धेरै लामो छैन । मर्जरमा गएका बीमा कम्पनीहरूमा के समस्या आएका छन् ?

बैंक तथा वित्तीय संस्थाहरूको त मर्जरको प्राक्टिस थियो । बीमा कम्पनीहरूमा यो थिएन । निर्जीवन बीमा कम्पनीहरूले त एक वर्षको बीमा गर्छ, त्यस अवधिको दाबी भुक्तानी गर्छ । यसले गर्दा निर्जीवन बीमा कम्पनीहरूलाई त्यति धेरै समस्या छैन ।

तर, जीवन बीमा कम्पनीहरूलाई भने मर्जरमा केही समस्या पनि हुन्छ । यी कम्पनीहरूले आज लिएको पैसाले १५/२० वर्षपछि बोनस दिनु पर्ने हुन्छ । लामो करार हुन्छ । मर्जरमा जाँदा यसले केही अप्ठ्यारो पार्छ कि भन्ने लागेको थियो । तर पनि हाम्रा बीमा कम्पनीहरूले सहज रूपमा लिएर नै अघि बढे ।

१९ वटा जीवन बीमा कम्पनीहरू भएकोमा अहिले १४ वटामा झरेका छन् । आफ्नो आफ्नो व्यवस्थापनमा हुर्केर आएका बीमा कम्पनीहरू अहिले मिलेर मर्जरमा गएका छन् । अहिलेसम्म त्यस्तो मर्जरले समस्या पार्‍यो भन्ने नै आएको छैन ।

तर पनि हामीले आगामी भदौ महिनाको सुरुवातमा मर्जरमा गएका कम्पनीहरूलाई बोलाएर के कस्तो समस्या छ, यसमा प्राधिकरणले के गरिदिनु पर्छ भन्ने विषयमा छलफल गर्दैछौं । समस्या रहेछ भने हामी दुबैतर्फ छलफलमा बसेर समाधान गर्छौं ।

चुक्ता पुँजी पुर्‍याउन नसकेकाहरूलाई प्राधिकरणले के गर्छ ?

बीमा भनेको अर्काको जोखिम बहन गर्ने संस्था हो । कम्पनीको जति पुँजी छ त्यतिको मात्रै जोखिम लिन सक्छ भन्ने हो । केही कम्पनीहरूले चुक्ता पुँजी पुर्‍याएका छन्, केहीले मर्जरमा गएर पुर्‍याएका छन् । अब रह्यो चुक्ता पुँजी नपुर्‍याएका कम्पनीहरूको कुरा । नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स कम्पनीको पुँजी नपुगेको देखिन्छ ।

नेपाल इन्स्योरेन्सले उसको आफ्नो सम्पत्ति बेच्छु भनेर आएको छ । त्यसका लागि कम्पनीले टेन्डर आह्वान पनि गरिसकेको छ । प्रभु इन्स्योन्सले चाहिँ विदेशी पार्टनर ल्याएर पुँजी वृद्धि गर्छौ भनेको छ । हामीलाई त्यसरी नै पत्र आएको छ ।

हामी पनि पुँजी पुर्‍याउने र नपुर्‍याउने कम्पनीहरूलाई एउटै डालोमा राख्दैनौँ । केही न केही छलफल गर्छौ । नुपुर्याउने कम्पनीहरूलाई हाम्रो व्यवस्थापनले केही न केही निर्णय गर्छ । मर्जरमा गएका कम्पनीहरूले जे सेवा सुविधा पाएका छन् त्यो मर्जरमा नगएकाहरूले पाउँदैनन्।

गाउँ गाउँमा बीमाको पहुँच पुर्‍याउनका लागि कसले के गर्नुपर्छ  ?

बीमाको पहुँच गाउँमा गाउँमा पुर्‍याउनका लागि नै हामीले अहिले प्रदेश–प्रदेशमा आफ्नो कर्पोरेट कार्यालयहरू रहनेगरी लघु बीमा कम्पनीहरूको इजाजत पत्र दिएका छौँ ।

प्राधिकरणको मुख्य लक्ष्य भनेको नै न्यून आय भएका, सीमान्तकृत समुदायका, दूरदराजमा बस्नेहरू सम्म बीमाको सेवा दिन हामीले इजाजत पत्र दिएका कम्पनीहरू त्यहाँ पुग्नुपर्‍यो भन्ने हो। बीमा सेवालाई त्यहाँसम्म पुग्नुपर्‍यो । यसका लागि हामीले गत वर्षदेखि नै काम गरिरहेका छौँ ।

लघु बीमा कम्पनीहरूलाई पालिकाहरूमा गएर उनीहरूसँग समन्वय गरेर त्यही पालिकामा नै रहेर काम गर्नुपर्छ भनेर भनेका छौँ । बीमाको सेवा पालिकाबाट विस्तार गर्नुपर्छ भनेर हामीले हाम्रा बीमा कम्पनीहरूलाई भनेका छौँ । उनीहरू पनि त्यही अनुसार अघि बढेका छन् ।

सरकारले नै अनुदान दिएर सुरु गरिएको कृषि बीमाको अनुदान यस आवको बजेटले पालिकामार्फत नै दिने भनेर घोषणा गरेको छ । यसले कति सहजीकरण होला ?

कृषि बीमाको विषय केही असहज भएको जस्तो देखिन्छ । नेपाल सरकारले बीमा शुल्कमा ८० प्रतिशत अनुदान दियो, त्यो अनुदान आइसकेपछि बीमाको दायरा पनि फराकिलो होला भनिएको थियो । तर, सरकारको ट्रेजरीमा भएको अनुदानलाई ल्याउन त्यति सजिलो छैन । अनुदान रकम आउनलाई नै एक वर्ष भन्दा ढिलो हुन्छ । यता बीमा कम्पनीहरूलाई छिटो भन्दा छिटो दाबी भुक्तानी गर्नुपर्ने हुन्छ ।

एकातिर बीमा ऐनले उधारो बीमा गर्न हुँदैन भन्छ । अर्कोतिर सरकारले अनुदान नै दिँदैन । सरकारले समयमा अनुदान दिन नसक्दा भुक्तानीमा ढिलाइ हुने गरेको हुन्छ । यसले गर्दा किसानहरू मर्कामा पर्ने गरेका छन् ।

हाम्रो अनुभवमा अनुदानको रकम पालिकामा गएर किसानले सिधै बीमा गर्दा ठीक होला जस्तो लाग्छ । त्यो पैसा सीधै किसानको हातमा जाओस् । यसरी नै हामीले सरकारलाई भनेका छौँ । गत वर्षकै डेढ अर्ब भन्दा बढी रकम बाँकी रहेका छ । यो वर्षको अझै आउनै बाँकी छ । ठूला कृषि व्यवसाय गर्नेहरूलाई सरकारले अनुदानको रकम दिनु भन्दा साना किसानलाई दिए हुने हो भन्ने लाग्छ ।

बीमा कोषहरू पनि ठूलाठूला भइसके, उनीहरूको लगानी हेर्ने हो भने धेरैजसो अनुत्पादक क्षेत्रमा भएको देखिन्छ । यसमा प्राधिकरणको सोच के छ?

बीमा कम्पनीहरूलाई लगानी विविधीकरण गर भनेर लगानी निर्देशिका बनाइदिएका छौँ । निक्षेपमा धेरै राखिएको पाइएकोले यसलाई विविधीकरण गर्न भनेका हौँ । दीर्घकालिनरूपमा लगानी गर्ने कुरामा हामीले बीमा कम्पनीहरूलाई निर्देश गरेका छौँ  । पर्यटन, स्वास्थ्य, शिक्षा, हाइड्रोमा पनि जाऊ भनेर भनेका छौँ । राष्ट्रिय गौरवको आयोजनामा पनि लगानी गर्छौ भने गर भनेका छौँ । पछिल्लो समय यी क्षेत्रमा केही लगानी पनि भएको छ । तर, जति हुनुपर्ने हो त्यति भएको छैन ।

कम्पनीहरूलाई त्यो क्षेत्रमा जाऊ, जहाँ लगानी नडुबोस् र भोलिका दिनमा सुरक्षित हुने गरी जान प्राधिकरणले स्वीकृत पनि दिएको छ । विशेषगरी उत्पादनको क्षेत्रमा लगानी गर्न प्रोत्साहन नै दिन्छौँ । यसमा बीमा कम्पनीहरूले चासो पनि देखाएका छन् ।