शीर्षकहरू

निगमका दुई जहाज निल्न खोज्नेहरूको छानबिन गर्न समिति गठन

निगमका दुई जहाज निल्न खोज्नेहरूको छानबिन गर्न समिति गठन

काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाजहरू मर्मतका क्रममा भएका गडबडीहरूको अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बुधबार  नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकको नेतृत्वमा बुधबार छानबिन समिति गठन गरेका हुन् ।

सो समितिलाई १५ दिन भित्र नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको सी–चेक (विस्तृत मर्मत) र अर्को न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको लापरबाही छानबिन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

मन्त्रालय स्रोतका अनुसार बुधबार नवगठित समितिका सदस्यहरूलाई नियुक्ति पत्र दिन ढिला भएपनि छानबिन समितिलाई २४ घण्टाभित्र दुवै जहाज मर्मतसँग सम्बन्धित कागजात उपलब्ध गराउन निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई भने पत्र पठाइ सकिएको  छ । सो समितिले जहाजहरू मर्मतका लागि बाहिर पठाउँदा अपनाइएका कानुनी प्रक्रिया, निर्णय, इमेल, पत्राचार र संलग्न कर्मचारीहरूको सम्पूर्ण विवरणहरू संकलन गरेर त्यसको विश्लेषणको आधारमा निष्कर्ष निकाल्ने छ ।

छानबिन समितिमा प्राधिकरणका अर्का पूर्वमहानिर्देशक रतिशचन्द्र लाल, नेपाल लेखा प्राविधिज्ञ संघ (अटान) का अध्यक्ष रुद्र प्रसाद ढुङ्गेल, र कानुनविज्ञ सदस्य छन् भने मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराई सदस्य सचिव रहेका छन् ।

यो प्रकरणमा भएको अनियमितता र त्रुटिको छानबिन गर्न नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले छुट्टै समिति यसअघी नै गठन गरिसकिएको छ । प्राधिकरणले  नेपाल वायुसेवा निगमको वाइडबडी विमान इटालीको नेपल्स पुगेको घटनामा कागजी प्रक्रिया नमिलाएको, अनुमति प्राप्त नगरेको जहाज मर्मत संस्था (एमआरओ) मा पुर्‍याएको अभियोगमा त्यो विमान दुबईबाट उडाएर लैजाने पाइलटहरू महेश्वरमान डंगोल र रमण घिमिरेलाई कारबाही स्वरूप ग्राउन्डेड गरेको छ ।