शीर्षकहरू

शिक्षामन्त्री सुमना श्रेष्ठ र केयूका पूर्व उपकुलपतिको दोहोरो नागरिकतामाथि छानविन

शिक्षामन्त्री सुमना श्रेष्ठ र केयूका पूर्व उपकुलपतिको दोहोरो नागरिकतामाथि छानविन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि दोहोरो नागरिकता प्रकरणमा अनुसन्धान अघि बढेको छ । मन्त्री श्रेष्ठले दोहोरो नागरिकता प्रयोग भन्दै राष्ट्रिय सतर्कता केन्द्रलाई अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको छ ।

बिहीबार पत्र आएपछि सतर्कता केन्द्रमा छलफल गरेर अनुसन्धान गर्ने तयारी गरेको राष्ट्रिय सतर्कता केन्द्र स्रोतले बताएको छ । 

शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशको स्थायी आवासीय अनुमति (पीआर) राखेको भन्ने उजुरीका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेको हो । उनीसँग नेपाली र युरोपियन मुलुक पोल्याण्डको दोहोरो नागरिकता रहेको आरोप लागेको छ।

शिक्षामन्त्री श्रेष्ठले विदेशी नागरिकसँग विवाह गरेकी छन् । राजनीति र सार्वजनिक नियुक्तिमा विदेशी नागरिकता, पिआर लिएकालाई नियुक्ति नदिन अख्तियारले सरकारलाई निर्देशन समेत दिएको थियो ।

श्रेष्ठलाई धेरै समय पहिलेदेखि दोहोरो नागरिकता राखेको आरोप लाग्दै आए पनि उनले भने उक्त आरोप अस्वीकार गर्दै आएकी छन् । केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सोही प्रकरण झिक्दै शिक्षामन्त्री श्रेष्ठप्रति 'नेपाल घुम्न आएकी मन्त्री पो भइन्' भनी टिप्पणी गरेका थिए ।

त्यस्तै, धुलिखेल अस्पतालका कार्यकारी निर्देशक समेत रहेका काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठको दोहोरो नागरिकता रहेको भन्दै परेको उजुरीमाथि पनि सतर्कता केन्द्रले छानबिन थालेको छ । डा श्रेष्ठसँग अमेरिकाको पीआर रहेको भन्दै उनीविरुद्ध पनि उजुरी परेको थियो। उनीहरुको उजुरी अख्तियारमा परेपछि थप अध्ययनका लागि केन्द्रमा पठाएको केन्द्र स्रोतले बताएको छ ।