शीर्षकहरू

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’

नुवाकोट । नुवाकोटको सूर्यचौर (सुइरेचौर) आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यका रूपमा विकास हुँदै गएको छ । शिवपुरी गाउँपालिकामा रहेको यो ठाउँ काठमाडौंलगायत बाह्य तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि पर्यटकीय गन्तव्यका रुपमा विकास हुदैँ गएको हो ।

समुद्र सतहदेखि २ हजार मिटर उचाइमा रहेको सूर्यचौरबाट मुलुकको राजधानी काठमाडौंदेखि नुवाकोटका विभिन्न रमणीय फाँट, गणेश, मनास्लु र अन्नपूर्ण हिमाललाई देख्न सकिन्छ । काठमाडौंको सामाखुसी चोकदेखि १३ किलोमिटर सडक यात्रा र ककनीबाट चार घण्टाको पैदलयात्रामा यहाँ पुग्न सकिन्छ । पर्यटकीय गतिविधि बढ्न थालेपछि पछिल्लो समय पर्यटन व्यवसायीले यस क्षेत्रमा लगानीसमेत बढाउन थालेका छन् । यसअघि युवायुवती, साथीभाइदेखि परिवारसम्म पिकनिक र आरामका लागि खाली चौरको उपयोग हुने गरेको थियो । पछिल्लो समयमा भने नयाँ होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । पर्यटन व्यवसायी जग्गा खरिद गरी होटल तथा रेष्टुराँ निर्माणमा जुटिरहेका छन् ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा, पर्यटन व्यवसायी राजन सिङ्खडा, जेवी सिंह, हेमराज बराल र कृष्ण घिमिरेलगायतको समूहले ७ करोड लगानीमा ‘सूर्यचौर नेचर रिट्रिट’ सञ्चालनमा ल्याएका छन् । २७ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको रिसोर्टमा हाल १० डिलक्स कोठा, चार डिलक्स ‘ग्ल्याम्पिङ टेन्ट’ र पिङ निर्माण गरिएको छ । कूल ३० करोड लगानीमा बन्न लागेको उक्त रिसोर्टभित्र स्वीमिङ पुल र सभाहलसहित थप डिलक्स तथा भिला निर्माण हुने सञ्चालक सिङ्खडा बताउँछन् ।

पिकनिक, जिपलाइन, हाइकिङ र बाइकिङको उत्कृष्ट गन्तव्यका रूपमा पनि यहाँको विकास हुँदै गएको छ । यहाँ प्याराग्लाइडिङ सञ्चालनका लागि अध्ययन भइसकेको छ भने जीपलाईन दर्ताको कामसमेत सम्पन्न भइसकेको छ । यस स्थानलाई भगवान शिवको क्रिडास्थलका रूपमा लिने गरिएको र ऋषि महर्षि र तपस्वीहरुले तपस्या गर्ने गरेको किंवदन्ती छ । त्यसैकारण यस क्षेत्रलाई शिवपुरी भन्ने गरिएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको यहाँको एक गाउँपालिको नामसमेत शिवपुरी राखिएको छ । सोही गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलिया यस क्षेत्रको विकासका लागि कृषि र पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको बताउँछन् ।

“शिवपुरीभित्र रहेका प्राकृतिक सम्पदाका साथै यहाँभित्रका झरना, मठमन्दिर संरक्षणका लागि गाउँपालिका जुटेको छ”, उनले भने,“लौके झरना संरक्षण, झरनाको फेदमा पोखरी निर्माणका लागि १ करोड विनियोजन गरिसकेका छौँ ।” 

यसैगरी, शिवपुरीभित्रका पर्यटकीय स्थल संरक्षणका लागि पदमार्ग, विश्रामस्थल, प्रचारप्रसारलगायतका कामलाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष थपलियाले बताए । उनका अनुसार पर्यटन प्रवर्द्धनका लागि शिवपुरीभित्रका विभिन्न गाउँमा होमस्टे सञ्चालन गर्न होमस्टे तालिमसमेत सञ्चालन गरिएको छ । यहाँभित्र रहेको थान्से भुमेको मन्दिर प्रचारप्रसार तथा पर्यटन पार्कसमेत निर्माण भइरहेको छ । “शिवपुरीको पर्यटन विकासका लागि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग पनि समन्वय गरिरहेको छ”, अध्यक्ष थपलियाले भने ।

बागमती प्रदेश सरकारले दुप्चेश्वर गाउँपालिका २ र ४, शिवपुरी गाउँपालिका ७ र ककनी गाउँपालिका(२ र ५ नं वडालाई समावेश गरी ककनी-सुइरेचौर-चिसापानी-कुटुमसाङलाई जोडेर पदमार्ग निर्माण गर्ने योजना बनाइरहेको जनाइएको छ ।