शीर्षकहरू

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुमाथि सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम आज सकिएपछि उक्त विधेयक पारित भएको हो । 

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको हो । उक्त विधेयक पारित गरियोस् भनी अर्थमन्त्री वर्षमान पुनले सभासमक्ष प्रस्ताव गरेका थिए । 

दुवै सदनबाट पारित भएको विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणपछि नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते)देखि लागू हुनेछ । आजको बैठकमा अर्थमन्त्री पुनले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक, २०८१, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ र भन्सार विधेयक, २०८१ लाई विचार गरियोस् भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले  स्वीकृत गरेको छ । ती विधेयकमा सांसदको संशोधन सुझावका आधारमा आगामी बैठकमा दफाबार छलफल हुनेछ । 

राष्ट्रियसभाको अर्को बैठक यही असार २३ गते आइतबार बिहान ११ः१५ बजे बस्नेछ ।