काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ठूला शेयरधनीको सूचीमा त्रिवेणी ग्रुप र विशाल ग्रुपको हिस्सा धेरै रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वित्तीय विवरण अनुसार १ प्रतिशत वा सो भन्दा धेरै शेयर स्वामित्व हुने शेयरधनीको संख्या १२ रहेको छ । जसमा ५ जना त्रिवेणी ग्रुप परिवार सदस्य रहेका छन् ।
जहाँ त्रिवेणीका ५ जनाको शेयर स्वामित्व १९.५९ प्रतिशत रहेको छ । जसमध्ये सबैभन्दा धेरै सुभाष चन्द्र संघाईको ६.०२ प्रतिशत स्वामित्व रहेको छ । उनको हाल कम्पनीमा ५४ लाख ३५ हजार कित्ता शेयर रहेको छ । यसैगरी, गोविन्द लाल संघाईको ५.३७ प्रतिशत, राम चन्द्र संघाईको ३.३० प्रतिशत, पुरुषोत्तम लाल संघाईको २.९४ प्रतिशत र कविता संघाईको १.९६ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
जहाँ गोविन्दको ४८ लाख ४४ हजार कित्ता शेयर रहेको छ भने राम चन्द्रको २९ लाख ७५ हजार, पुरुषोत्तम लालको २६ लाख ५० हजार कित्ता र कविताको १७ लाख ६८ हजार कित्ता शेयर रहेको छ ।
यसैगरी, कम्पनीमा विशाल ग्रुप परिवारका सदस्यको ११.४६ प्रतिशत धेरै स्वामित्व रहेको छ। ठूला लगानीकर्तामा विशाल ग्रुप परिवारका ४ सदस्य रहेका छन् । अनुज अग्रवाल, विशाल अग्रवाल, तुलसीराम अग्रवाल र मञ्जु अग्रवाल ठूला शेयरधनीको रुपमा अटाएका छन्।
अनुजको ४३ लाख ८५ हजार कित्ता शेयर तथा ४.४६ प्रतिशत स्वामित्व, विशालको ३१ लख ६० हजार कित्ता शेयर तथा ३.५० प्रतिशत स्वामित्व, तुलसी रामको १४ लाख २९ हजार कित्ता शेयर तथा १.५८ प्रतिशत स्वामित्व र मन्जुको १३ लाख ७३ हजार कित्ता शेयर तथा १.५२ प्रतिशत स्वामित्व रहेको छ ।
उक्त दुई ग्रुप बाहेक कम्पनीमा पवन कुमार गोल्यानको ३ प्रतिशत स्वामित्व रहेको छ । उनको नाममा कम्पनीको २७ लाख ११ हजार ९४७ कित्ता शेयर रहेको छ । त्यसैगरी, वासुदेव गोल्यानको स्वामित्व २.३८ प्रतिशत तथा २१ लख ४५ हजार ७२९ कित्ता शेयर रहेको छ । सुशील गुप्ताको १.३२ प्रतिशत स्वामित्व तथा ११ लाख ९६ हजार कित्ता शेयर रहेको छ ।
नेपाल लाइफ नेपालको सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनी हो । जसले चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै २१ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनी जीवन बीमा क्षेत्रको २७.७९ प्रतिशत व्यापार ओगट्न सफल भएको छ। कम्पनीमा करिब १९ लाख सक्रिय बीमित रहेका छन् ।
कम्पनीको शाखा संख्या १९४ वटा रहेको छ भने ६९५ जनाले रोजगारी पाएका छन् । प्रति शेयर नेटवर्थ १४४ रुपैयाँ रहेको कम्पनीको प्रति शेयर आम्दानी २५.४१ रुपैयाँ रहेको छ । सल्भेन्सी पर्याप्त १५३.७ प्रतिशत रहेको कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीले व्यापार गरेर लगानीकर्तालाई राम्रो लाभांश वितरण गर्दै आएको छ । कम्पनीले विगत ४ वर्षदेखि हरेक वर्ष २१.०५ प्रतिशत लाभांश वितरण गर्दै आएको छ । गत आवको मुनाफाबाट पनि सोही बराबर लाभांश दिने घोषणा गरेको छ ।
आर्थिकन्यूज