काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या ६ रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन अनुसार १ प्रतिशत वा सोभन्दा धेरै शेयर स्वामित्व होल्ड गर्ने लगानीकर्ताको संख्या ६ रहेको छ ।
जसमध्ये सबैभन्दा धेरै शेयर नेशनल लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीमा नेशनल लाइफको ५०.१२ प्रतिशत स्वामित्व तथा १ करोड २८ लाख ५७ हजार शेयर रहेको छ । अघिल्लो वर्ष कम्पनीमा नेशनलको स्वामित्व ५० प्रतिशत थियो ।
यस्तै, कम्पनीको ठूला लगानीकर्ताको रुपमा हिमालयन रिइन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्स भित्रिएका छन् । हिमालयन रि ३१ लाख ४६ हजार शेयर खरिद गर्दै कम्पनीको दोस्रो ठूलो शेयरधनीको रुपमा भित्रिएको छ । जसको स्वामित्व १२.४२ प्रतिशत रहेको छ । यसैगरी, हिमालयन लाइफले पनि ६ लाख ८३ हजार शेयर खरिद गरेको छ । यससँगै हिमालयन लाइफ तेस्रो ठूलो शेयरधनी भएको छ । जसको स्वामित्व २.६६ प्रतिशत रहेको छ।
कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकको स्वामित्व २ प्रतिशत तथा ५ लाख १३ हजार कित्ता शेयर रहेको छ भने रण बहादुर शाहका स्वामित्व १.३९ प्रतिशत छ । शाहको शेयर ३ लाख ५४ हजार ७७० कित्ता छ । यसैगरी, सिद्धेश्वर कुमार सिंहको स्वामित्व १.२५ प्रतिशत तथा ३ लाख २० हजार २४८ कित्ता शेयर रहेको छ । सिंहले गत वर्ष कम्पनीमा स्वामित्व घटाएका हुन् । अघिल्लो वर्ष उनको स्वामित्व २.३६ प्रतिशत थियो ।
आर्थिकन्यूज

