काठमाडौं । एरो फर्मास्युटिकल्स लिले प्रति शेयर अंकित मुल्य १०० रुपैयाँ दरको १५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ । २८ गतेका दिन ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एरो फर्मास्युटिकल्स लिको को तर्फबाट सञ्चालक समितिका अध्यक्ष उद्धव प्रसाद मैनाली र ग्लोबल आइएमई क्यापिटल लिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
अधिकृत पुँजी १ अर्ब रुपैयाँ र जारी पुँजी ७५ करोड रुपैयाँ रहेको यस फर्मास्यूटिकल्सको कर्पोरेट अफिस काठमाण्डौं महानगरपालिका वडा नं. ३ बसुन्धरामा रहेको छ भने भक्तपुरको सुडालमा औषधि उत्पादन गर्ने कारखाना रहेको छ ।
यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी, उद्योगी तथा ख्यातीप्राप्त व्यक्तित्वहरुको लगानी रहेको छ । विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुद्वारा प्रवद्र्धित यस फर्मास्यूटिकल्स कम्पनी आर्थिक वर्ष २०७१÷०७२ मा प्रा.लि.को रुपमा स्थापना भई आर्थिक वर्ष २०८०÷०८१ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भएको हो ।
विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट्स, क्याप्सुल्स, ओइन्टमेन्ट, एक्स्टर्नल लिक्विड, ड्राइ सस्पेन्सन र पाउडर औषधिहरु उत्पादन तथा बिक्री वितरण गर्दै आएकोमा हाल १०७ ब्रान्डका औषधिहरु बजारमा छन ।
कम्पनीले विशेष रुपमा उच्च रक्तचाप÷मधुमेहमा प्रयोग हुने, एन्टिबायोटिक्स लगायतका गुणस्तरीय औषधिहरुको उत्पादन गर्दछ । कम्पनीले आफ्नो बजार विस्तारको क्रममा यसै आर्थिक वर्षदेखि जनावरमा प्रयोग हुने भेटेरिनरी औषधिहरुको पनि उत्पादन शुरु गरेको छ ।