शीर्षकहरू

सुप्रिम हेल्थ केयरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

सुप्रिम हेल्थ केयरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

काठमाडौं । सुप्रिम हेल्थ केयर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरको १२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । 

जसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धमा कम्पनी र क्यापिटलबीच सोमबार सम्झौता भएको हो । सम्झौता पत्रमा कम्पनीका कार्यकारी सञ्चालक मुकेश शर्मा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका हुन् । 

विभिन्न क्षेत्रका व्यक्तित्वहरुद्वारा प्रवद्र्धित विगत ६ वर्षदेखि लगातार नाफा कमाउन सफल यस सुप्रिम हेल्थ केयर लि. वि.संं. २०६६ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको कम्पनी हो । यसको  रजिस्टर्ड (केन्द्रीय) कार्यालय बारा जिल्लाको परवानीपुरमा रहेको छ भने सम्पर्क कार्यालय गहनापोखरी काठमाण्डौंमा रहेको छ ।

डब्लुएचओ जीएमपी र आईएसओबाट प्रमाणित कम्पनीको आफ्नैं अनुसन्धान तथा विकास विभाग रहेको र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजाइन गरिएको छ । यसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको आफ्नै अनुसन्धान तथा विकास विभाग समेत सञ्चालनमा ल्याएको छ । नेपालकै अग्रणी औषधी उत्पादक कम्पनीको रूपमा स्थापित यस कम्पनीले ट्याब्लेट, क्याप्सुल, क्रीम, लोशन र सोलुसन लगायतका ८५ भन्दा बढी उत्पादनहरु ३५ भन्दा बढी उपचारात्मक श्रेणीमा उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।

नेपालका प्रमुख अस्पताल, फार्मेसी र चिकित्सा क्षेत्रको विश्वास जित्दै आएको यस कम्पनीले नेपालमा सर्वप्रथम ( पेनडोम–डी एसआर) नामक औषधी समेत बनाएर नेपालमा एउटा ब्रान्ड बन्न सफल भएको छ ।

कम्पनीले औषधी उत्पादन तथा वितरणसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा स्वास्थ्य साक्षरताका विविध कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक प्रभाव पार्दै आइरहेको छ ।