शीर्षकहरू

सूर्यज्योतिमा स्रोत नखुलेको रकमको प्रयोग देखि सञ्चालककै शैक्षिक योग्यतामा कैफियत : तर, प्राधिकरण किन मौन ?

सूर्यज्योतिमा स्रोत नखुलेको रकमको प्रयोग देखि सञ्चालककै शैक्षिक योग्यतामा कैफियत : तर, प्राधिकरण किन मौन ?

काठमाडौं । कालोधनलाई शुद्धीकरण गर्ने थलो बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई नेपाल बीमा प्राधिकरणले उन्मुक्ति दिएको छ । ८ महिना अगाडी प्राधिकरणले नै गरेको अनुगमनमा कम्पनीले स्रोत नखुलेको रकम प्रयोगदेखि कर्मचारी र सञ्चालकको शैक्षिक योग्यतामा कैफियत समेत भेटेको थियो । 

प्राधिकरणले बीमा कम्पनीहरुको नियमित र आकस्मिक गरी दुई खालको अनुगमन गर्दे आएको छ । सूर्यज्योतिको नियमित अनुगमनमा प्राधिकरणका टोलीले कम्पनीले कालोधन शुद्धीकरण गर्ने गरेको, योग्यता नपुगेका कर्मचारी र सञ्चालक रहेको, कानून विपरित अभिकर्तालाई कर्जा दिएको, शंकास्पद प्रक्रियाबाट एउटै अभिकर्ताको खातामा कमिशन गएको लगायतका कैफियतहरु भेटेको थियो। । 

प्राधिकरणको अनुगमन टोलीले अनुगमन प्रतिवेदनमा प्राधिकरण भित्र रहेको अनुगमन अध्ययन समितिलाई बुझाउँछ । उक्त समितिले प्रतिवेदनमा प्राधिकरणको सञ्चालक समितिलाई पेश गर्छ । सञ्चालक समितिको निर्णय पछि कम्पनीलाई कारवाही गरिन्छ । 

प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशिलदेव सुवेदीले भने कम्पनीमा भएको अनियमितताको बारेमा आफुलाई कुनै पनि जानकारी नभएको बताए । ‘कम्पनी भित्र के भएको हो भन्ने बुझेकै छैन । म सम्बन्धित शाखामा बुझेर जानकारी गराउँछु,’ उनले भने  । 

प्राधिकरणको कार्यकारी निर्देशकको हैसियतले सुवेदी अनुगमन टोलीले बुझाएको प्रतिवेदनमा जानकार छन् । सुवेदी प्राधिकरण सञ्चालक समितिको सचिव समेत हुन् । सूर्यज्योतिमा भएको अनियमितताको बारेमा जानकार रहेका कार्यकारी निर्देशक सुवेदीले भने यस बिषयलाई ढाकछोप गर्दै अनभिज्ञता प्रकट गरेका छन् । 

सुवेदी कै निर्देशनमा गठित अनुगमन टोलिले गरेको निरिक्षण प्रतिवेदनमा सो कैफियतहरु उल्लेख गरिएको छ । प्राधिकरण स्रोतका अनुसार अनुगमन टोलिले गत भदौमा नै उनलाई सो रिपोर्ट पनि बुझाइसकेको छ । तर, उनी हालसम्म आफुलाई केही थाहा नभएको नाटक रचिरहेका छन् । 

प्राधिकरणमा भएको यो पहिलो घटना होइन । कम्पनीले अनियमिता गरे भने कारवाही गर्न बीमा ऐनले नै व्यवस्था गरेको छ । तर, प्राधिकरणले भने कम्पनीहरुले गर्ने अनियमितताको बारेमा ढाकछोप गर्दै आएका छन् । आजसम्म पनि प्राधिकरणले कुनै पनि कारवाही गरेको छैन । यसले प्राधिकरण र कम्पनी बीचको मिलोमतोमा नै कम्पनीले ठगी गर्ने गरेको स्पष्ट हुन्छ । 

के छ बीमा ऐनमा सजायको व्यवस्था ? 

बीमा ऐन, २०७९ को दफा ३८ को उपदफा ४ अनुसार बीमकले नियम, विनियम, निर्देशन वा आदेश विपरीत कार्य गरेमा पहिलो पटकका लागि २ लाख रुपैयाँ जरिवाना हुनेछ । 

दोस्रो पटकका लागि २५ लाख र तेस्रो पटक वा सोभन्दा बढीका लागि पटकै पिच्छे ५० लाख रुपैयाँका दरले जरिवाना जोडिदै जाने उल्लेख छ । 

यसैगरी, दफा ३८ को उपदफा ५ अनुसार बीमकले परिपालन सम्बन्धी प्रतिवेदन पेश नगरेमा प्राधिकरणले एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । 

दफा १३८ को उपदफा १२ अनुसार प्राधिकरणले गरेको सजाय उपर चित्त नबुझेमा  ३५ दिन भित्र सम्बन्धीत उच्च अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ । 

त्यसैगरी, बीमकको कर्मचारी, पदाधिकारी वा अन्य कसैले बीमालेख जारी गर्दा, बीमा गरिएको सम्पत्ति तथा दायित्वको क्षति मूल्याङ्कन गर्दा, बीमा दाबी भुक्तानी गर्दा वा बीमा व्यवसाय सञ्चालनको क्रममा कुनै अनियमितता गरेमा वा आर्थिक दुरूपयोग गरेमा दफा १४१ को उपदफा ३ अनुसार दश लाख रूपैयाँसम्म बिगो भए एक बर्षसम्म कैद, दश लाख रूपैयाँभन्दा बढी पचास लाख रूपैयाँसम्म बिगो भए दुई बर्षसम्म कैद, पचास लाख रूपैयाँभन्दा बढी एक करोड रूपैयाँसम्म बिगो भए तीन बर्षसम्म कैद र एक करोड रूपैयाँभन्दा बढी जतिसुकै बिगो भए तीन बर्षदेखि पाँच वर्षसम्म कैद हुनेछ ।

यस्तै, कसूर गर्न मद्दत पुर्याउने व्यक्तिलाई दफा १४१ को ४ अनुसार मुख्य कसूर गर्ने व्यक्तिलाई गरिने सजायको आधा सजाय गरिने उल्लेख छ । 

सूर्यज्योतिमा स्रोत नखुलेको रकम प्रयोग देखि शैक्षिक योग्यतामा समेत कैफियत 

सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आम्दानीको स्रोतभन्दा बढीको पोलिसी विक्री गरेको पाइएको छ । प्राधिकरणले गरेको अनुगमनमा १०३०००००३९७ बीमालेख नम्बरको बीमांक रकम १५ लाख १९ हजार रहेको छ । वार्षिक बीमांक रकम १४ लाख ९९ हजार ९३७ रुपैयाँ रहेको  छ । तर, बीमितले पेश गरेको आय विवरणमा वार्षिक १  लाख २५ हजार मात्रै रहेको । सो आम्दानी बीमाशुल्क तिर्नका लागि पर्याप्त होइन । यद्यपि, कम्पनीले पोलिसी जारी गरेको छ । 

त्यस्तै, २५ लाख रुपैयाँ बीमांक भएको वार्षिक ६ लाख २० हजार ३०० बीमाशुल्क भुक्तानी गर्नुपर्ने १०९००००४३६ नम्बरको बीमालेख, बीमांक रकम ५० लाख वार्षिक बीमाशुल्क ४४ लाख ३६ हजार २५० रहेको बीमालेख नम्बर ७६१०००००४८४, २० लाख रुपैयाँको बीमांक रकम, वार्षिक बीमाशुल्क २२ लाख २८ हजार १८० बीमाशुल्क भुक्तानी भएको ७५१०००००२११ नम्बरको बीमालेख आम्दानीको स्रोत खुल्ने विश्वसनीय कागजातहरू नपाइएको छ । त्यस्तै, बीमालेख नम्बर ७६१०००००३२५, ५१२०००००२७६, ५१२०००००२७७, ८१३००००००५७ नम्बरको बीमालेख पनि आम्दानीको स्रोत खुल्न यकिन आधार नभएको अनुगमनमा देखिएको छ । 

बीमालेख जारी गर्दा बीमकले अनिवार्य रुपमा वित्तीय जोखिमांकन गर्नुपर्ने हुन्छ । वित्तीय जोखिमांकन गर्दा बीमितले बीमा अवधिभर आफ्ना अन्य खर्चहरू बेहोरेपश्चात बीमाशुल्क रकम भुक्तानी गर्नसक्ने क्षमताको मूल्यांकन गर्नुपर्ने हुन्छ । अन्य कागजातभन्दा बीमितको आयकर जम्मा गरिएको प्रमाण लिँदा आयस्रोत बढी विश्वसनीय हुने र वित्तीय जोखिमांकन बढी प्रभावकारी हुने देखिन्छ । तर, कम्पनीले जारी गरेको बीमालेखमा आयस्रोत सुनश्चितताको कागजपत्र नभेटिएको अनुगमनमा देखिएको छ । 

त्यस्तै, कम्पनीले बीमालेख नम्बर ११२००००७९४ तीन लाख ६ हजार, ८६६०००००२७२ बीमाशुल्क ३३ हजार ७६६ बीमाशुल्कको बीमालेख जारी भएको एक दिन ढिलो गरी बीमाशुल्क भुक्तानी भएको पाइएको छ । 

बीमा ऐन २०७९ को दफा ६४ बीमकले पुरा बीमाशुल्क नलिई बमिालेख जारी गर्न पाइँदैन । साथै बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ५५ मा बीमकले पूरा बीमाशुल्क नलिइ बीमालेख जारी गर्न नहुने व्यवस्था छ । जुन कम्पनीले पालना गरेको छैन । 

सूर्यज्योति लाइफ इन्स्यारेन्स कम्पनीले योग्यता नपुगेका कर्मचारीलाई नियुक्त गरेको पाइएको छ । प्राधिकरणले नै गरेको अनुगमनमा कम्पनीले योग्यता नपुगेका कर्मचारीलाई पनि आफूखुशी नियुक्ति दिएको पाइएको थियो । 

कम्पनीले ब्रान्च म्यानेजर, एरिया सेल्स म्यानेजर र अफिसरको योग्यता 'प्लस टू' मात्रै भएको पाएको छ । संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा ३३ (२) अनुसार सो पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ । तर, कम्पनीले सुशासनको निर्देशिका उल्लघंन गर्दै कर्मचारी नियुक्त गरेको पाइएको हो । 

त्यस्तै, केही कर्मचारीलाई कम्पनीले नियुक्त पत्र नै प्रदान नगरेको र उनीहरूको शैक्षिक योग्यता नै पेस नभएको पनि पाइएको छ । 

त्यस्तै, कम्पनीका सञ्चालकको शैक्षिक योग्यतामा कैफियत भेटिएको छ । कम्पनीले बीमा ऐन २०७९ मिचेरै शैक्षिक योग्यता र कर चुक्ताको पर्याप्त प्रमाण नभएका व्यक्तिलाई सञ्चालकमा नियुक्त गरेको भेटिएको हो । 

कम्पनीका सञ्चालक आकाश गोल्छा, स्वतन्त्र सञ्चालक चुडामणि देवकोटा, प्रिया तयालको विदेशी विश्व विद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाण नै नलिइएको पाइएको हो ।