शीर्षकहरू

चैत १५ को हुलदंगाबाट साढे ४ करोडको बीमा दाबीः ४ कम्पनीले दिए ३३ लाख भुक्तानी

चैत १५ को हुलदंगाबाट साढे ४ करोडको बीमा दाबीः ४ कम्पनीले दिए ३३ लाख भुक्तानी

काठमाडौं । गत चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको हुलदंगाबाट बीमा कम्पनीहरूमा साढे ४ करोडको दाबी पेश भएको छ । विभिन्न १२ वटा निर्जीवन बीमा कम्पनीहरुमा ४ करोड ५९ लाख ६२ हजार रुपैयाँ बढीको दाबी पेश भएको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार हालसम्म ४ कम्पनीबाट ३३ लाख ३५ हजार रुपैयाँ मात्र भुक्तानी  भएको छ । जसमध्ये शिखर इन्स्योरेन्सले आफ्नो कम्पनीमा पेश भएको सबै दाबी भुक्तानी गरेको छ । शिखरमा ४ लाख ९८ हजार रुपैयाँ दाबी पेश भएकोमा उक्त सबै रकम भुक्तानी दिएको छ । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले पनि दाबी भुक्तानी दिन सुरु गरेका छन् । ७६ लाख ७० हजार दाबी पेश भएको सिद्धार्थ प्रिमियरले हालसम्म २६ लाख रुपैयाँ दबी भुक्तानी गरिसकेको छ । यसैगरी, ७५ लाख ४९ हजार दाबी पेश भएको सगरमाथा लुम्बिनीले २० लाख २ हजार रुपैयाँ भुक्तानी दिएको छ भने आईजीआई प्रुडेन्सियलले २८ हजार रुपैयाँ भुक्तानी दिएको छ । आईजीआई प्रुडेन्सियलमा १७ लाख ३८ हजार रुपैयाँ दाबी पेश भएको छ ।

उक्त ४ कम्पनी बाहेक अन्य कुनै कम्पनीले पनि दाबी भुक्तानी दिएका छैनन् । उक्त हुलदंगाबाट बीमा कम्पनीहरुमा ५ वटा दाबी पेश भएको हो । जसमध्ये सबैभन्दा धेरै सम्पत्ति बीमा अन्तर्गत दाबी पेश भएको छ । सम्पत्ति अन्तर्गत २१ वटा दाबी पेश भएको छ । यस पोर्टफोलियो अन्तर्गत २ करोड ७८ लाख ८७ हजार रुपैयाँको दाबी पेश भएको प्राधिकरणको तथ्यांकले देखाउँछ । यसैगरी मोटर बीमा अन्तर्गत २२ दाबी पेश भएको छ । मोटर पोर्टफोलियो अन्तर्गत १ करोड रुपैयाँको दाबी पेश भएको हो । 

कम्पनी अनुसार हेर्दा रकमका आधारमा सबैभन्दा धेरै दाबी राष्ट्रिय बीमा कम्पनीमा पेश भएको छ । राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँको दाबी पेश भएको छ । 

null