शीर्षकहरू

वित्तीय प्रणालीमा ६९ अर्ब अधिक तरलता : ट्रेजरी बिल खरिदमा बैंकहरुबीच उच्च प्रतिस्पर्धा, सोमबार २८ अर्बको बोलकबोल हुँदै

वित्तीय प्रणालीमा ६९ अर्ब अधिक तरलता : ट्रेजरी बिल खरिदमा बैंकहरुबीच उच्च प्रतिस्पर्धा, सोमबार २८ अर्बको बोलकबोल हुँदै

एक बर्षे ट्रेजरी बिल खरिदमा ४ देखि ६ गुणासम्म आवेदन

काठमाडौं । पछिल्लो समयमा ट्रेजरी बिल खरिदमा पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको छ । वित्तीय प्रणालीमा प्रशस्त तरलता रहेकाले बैंकहरुले अन्यत्र लगानी गर्न नसक्दा सस्तो ब्याजदरमै भएपनि विभिन्न अल्पकालिन उपकरणहरुमा लगानी गर्दै आएका छन् । राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि जारी गर्ने निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा एसडीएफमा लगानी गर्दै आएका बैंकहरुबीच ट्रेजरी बिल खरिदमा पनि उच्च प्रतिस्पर्धा देखिएको छ । 

जसले गर्दा ट्रेजरी बिल खरिदमा पनि मागभन्दा निकै धेरै आवेदन गर्ने गरेका छन् । एक वर्षे अवधिको ट्रेजरी बिल खरिदमा ४ देखि ६ गुणासम्म आवेदन पर्न थालेको छ । कर्जा लगानी गर्न नसक्दा सरकारले आन्तरिक ऋण उठाउन जारी गरेकोे ट्रेजरी बिल खरिद गर्न पनि बैंकहरुबीच उच्च प्रतिस्पर्धा देखिएको हो । ट्रेजरी बिल खरिदका लागि उच्च प्रतिस्पर्धा हुँदा डिस्काउन्ट रेट पनि घटेको छ । अहिले ३६४ दिने बाहेक अन्य सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ । ३६४ दिनेको डिस्काउन्ट रेट तीन प्रतिशत भन्दा थोरै माथि रहेको छ । 

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले अन्यत्र लगानी विस्तार नहुँदा अल्पकालीन लगानीका उपकरणहरु खरीदमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ । जसले गर्दा व्याजदर पनि घटेको छ । ब्याजदर सस्तो भएको मौकामा सरकारले पनि सार्वजनिक उठाउने क्रमलाई तिब्रता दिएको छ । यसैक्रममा, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज वैशाख १५ गते सोमबार २८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । जसमध्ये २३ अर्ब १० करोडको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो भने ५ अर्बको नयाँ हो।

कार्यालयका अनुसार ९१ दिने अवधिको ८ अर्ब १० करोडको नवीकरण गर्न लागेको हो । त्यस्तै ९१ दिन अवधिकै ५ अर्बको नयाँ जारी गर्न लागेको हो । १८२ दिने अवधिको १३ अर्ब रुपैया तथा ३६४ दिने अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो । बोलकबोलमा सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ ।सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ । 

पछिल्लो समयमा बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिलमा मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ, जसले गर्दा डिस्काउन्ट रेट पनि घटेको छ । यसअघि गत वैशाख ८ मा भएको बोलकबोलमा २८ दिन अवधिको १० अर्बको ट्रेजरी बिलको खरिदका लागि २१ अर्ब ५९ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९७ प्रतिशत कायम भयो । ९१ दिन अवधिको ५ अर्ब २५ करोडको ट्रेजरी बिलको खरिदका लागि १८ अर्ब ५३ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९६ प्रतिशत कायम भएको थियो । यस्तै, १८२ दिन अवधिको ६ अर्बको ट्रेजरी बिल खरिदका लागि १८ अर्ब ५५ करोड रुपैयाँ बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट २.९८ प्रतिशत कायम भयो । 

यसैगरी, ३६४ दिन अवधिको ४ अर्ब करोडको ट्रेजरी बिल खरिदको लागि २० अर्ब २५ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट ३.०३ प्रतिशत कायम भएको थियो । पछिल्लो समयमा एक वर्षे अर्थात ३६४ दिने अवधिको ट्रेजरी बिल खरिदमा उच्च माग पर्ने गरेको छ । यसअघि गत वैशाख २ गते ३६४ दिन अवधिको ७ अर्बको ट्रेजरी बिल खरिदको लागि ४१ अर्ब ५५ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट ३.०५ प्रतिशत कायम भएको थियो । त्यस्तै गत चैत २६ गते ५ अर्बको ट्रेजरी बिल खरिदको लागि १९ अर्ब ७५ करोड बराबरको बोल परेको थियो । जसको औसत डिस्काउन्ट रेट ३.०६ प्रतिशत कायम भएको थियो । छोटो अवधिको भन्दा १ वर्ष अवधिको ट्रेजरी बिल खरिद गर्न बैंकहरुबीच उच्च प्रतिस्पर्धा भएको देखिन्छ । 

अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त छ । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।

वित्तीय प्रणालीमा ६९ अर्ब अधिक तरलता, साढे ६ खर्ब लगानीयोग्य रकम  

आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग अझै बढ्न सकेको छैन । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी नहुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । 

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख १८ गते शनिबारसम्म वित्तीय प्रणालीमा ६९ अर्ब २९ करोड ४४ लाख रुपैयाँ अधिक तरलता छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकहरुले वैशाख १४ गते आइतबार मात्रै १ खर्ब २६ अर्ब ९५ करोड स्थायी निक्षेप सुविधा एसडीएफ लिएका थिए । उक्त उपकरणमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् । यस्तै बैंकहरुले निक्षेप संकलन उपकरणमा जम्मा गरेको १ खर्ब ५९ अर्ब ८० करोड अधिक तरलताको रकम परिपक्क हुनै बाँकी रहेको छ । 

राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले बैंकहरूमा कुल ६४ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५५ खर्ब ६ अर्ब कर्जा लगानी गरेका छन। बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.३५ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग साढे ६ खर्ब रुपैयाँ लगानीयोग्य रकम देखिन्छ । 

ट्रेजरी बिल भनेको के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ ।

बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।
 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...