शीर्षकहरू

रिलायबल लाइफको नाफा ४७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

रिलायबल लाइफको नाफा ४७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । रिलायबल लाइफ नेपाल इन्स्योरेन्स कम्पनीको खुद नाफा ह्वात्तै बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको विवरण अनुसार खुद नाफा ४७.२३ प्रतिशतले वृद्धि भएको छ । 

गत आर्थिक वर्षमा कम्पनीले ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ४५ करोड ७१ लाख रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा ९ अर्ब ९४ करोड रुपैयाँ थियो । 

कम्पनीले हालसम्म २० अर्ब ६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । जसमध्ये १७ अर्ब १५ करोड रुपैयाँ दीर्घकालिन र २ अर्ब ९१ करोड रुपैयाँ अल्पकालीन लगानी रहेको छ । अघिल्लो वर्षसम्म कम्पनीको यस्तो लगानी १६ अर्ब ८० करोड रुपैयाँ थियो । 

कम्पनीको प्रति शेयर आम्दानी वृद्धि भएको छ । अघिल्लो वर्ष ८.३५ रुपैयाँ रहेको प्रति शेयर आम्दानी गत वर्षमा १०.९७ रुपैयाँ पुगेको छ । 

पीई रेसियो ४३.४४ गुणा, प्रति शेयर नेटवर्थ १४७.४७ रुपैयाँ, प्रति शेयर कुल सम्पत्तिको मूल्य ४२०.६९ रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले ५ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन गरेको थियो ।