शीर्षकहरू

बीमा व्यवसायको गरिमा उच्च बनाउन प्राधिकरणको निर्देशन

बीमा व्यवसायको गरिमा उच्च बनाउन प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा व्यवसायको गरिमा उच्च हुने गरी कार्य गर्न निर्देशन दिएको छ। कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आयोजित नववर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रममा प्राधिकरणले यस्तो निर्देशन दिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रको विकास, विस्तार तथा पहुँच अभिवृद्धिका लागि सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले प्राधिकरणले कुनै पनि पक्षप्रति आग्रह–पूर्वाग्रह नराखी बीमा ऐन, नियम र निर्देशनअनुसार काम गरिरहेको स्पष्ट पारे।

उनले बीमा कम्पनीहरूलाई नियामक मापदण्डअनुसार काम गर्दै क्षेत्रको विश्वसनीयता र गरिमा थप उच्च बनाउन निर्देशन दिए। साथै, बीमा क्षेत्रको सुशासन, प्रविधि प्रयोग र पहुँच विस्तारका लागि प्राधिकरण आवश्यक सहजीकरण गर्न तयार रहेको पनि बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्राधिकरणकी निर्देशक पूजन ढुङ्गेल अधिकारीले हाल बीमा पहुँच देशको झण्डै ५० प्रतिशत जनसङ्ख्यामा पुगेको जानकारी दिइन। उनले बीमा क्षेत्रका प्रमुख सूचकहरू सकारात्मक रहेको उल्लेख गर्दै ग्रामीण क्षेत्रसम्म सेवा विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिइन।

सो अवसरमा विद्यार्थीहरूलाई लक्षित गर्दै तयार गरिएको बीमा सम्बन्धी चित्रकथा पुस्तक ‘बीमाको चित्रकथाको सङ्गालो’ पनि सार्वजनिक गरिएको थियो।

कार्यक्रममा नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ र नेपाल लघु जीवन बीमक संघका अध्यक्ष तथा विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया