शीर्षकहरू

मध्यपूर्व द्वन्द्वको असर : विश्व आर्थिक वृद्धि ३.१ प्रतिशतमा खुम्चिने आईएमएफको प्रक्षेपण

नेपालको आर्थिक वृद्धि २.९५ प्रतिशत रहने प्रक्षेपण

मध्यपूर्व द्वन्द्वको असर : विश्व आर्थिक वृद्धि ३.१ प्रतिशतमा खुम्चिने आईएमएफको प्रक्षेपण

वासिङ्टन डीसी, अमेरिका। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। यो दर अघिल्लो अनुमानभन्दा ०.२ प्रतिशत बिन्दुले कम हो भने सन् २०२४/२५ को ३.४ प्रतिशतको अनुमानित वृद्धिदरभन्दा पनि न्यून हो।

आईएमएफले सार्वजनिक गरेको ‘ग्लोबल फाइनान्सियल स्टाबिलिटी रिपोर्ट २०२६’ अनुसार विश्व अर्थतन्त्रमा सुस्तता देखिने संकेत गर्दै सन् २०२७ मा भने वृद्धिदर ३.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।

यो प्रक्षेपण विश्वको दीर्घकालीन औसत ३.७ प्रतिशतभन्दा पनि कम हो। सन् २००० देखि २०१९ सम्मको औसत वृद्धिदरलाई आधार मान्दा अहिलेको गिरावटले विश्व अर्थतन्त्रमा दबाब बढेको संकेत गर्छ।

रिपोर्ट सोमबारदेखि वासिङ्टन डीसीमा सुरु भएको आईएमएफको वार्षिक बैठकमा सार्वजनिक गरिएको हो।

नेपालको आर्थिक वृद्धि पनि यो वर्ष २.९५ प्रतिशत रहने प्रक्षेपण आईएमएफको छ । आगामी वर्ष भने आर्थिक वृद्धि ४.५ प्रतिशत हुने प्रक्षेपण आईएमएफले गरेको छ ।

आईएमएफका अनुसार विश्व आर्थिक वृद्धिमा आएको गिरावटको प्रमुख कारण पश्चिम एसिया (मध्यपूर्व) मा जारी युद्ध हो। “यदि यो द्वन्द्व नभएको भए सन् २०२६ मा विश्व आर्थिक वृद्धि ३.४ प्रतिशतसम्म पुग्ने सम्भावना थियो,” प्रतिवेदनमा उल्लेख छ।

युद्धका कारण वस्तु बजारमा अस्थिरता, मुद्रास्फीति अपेक्षामा वृद्धि र वित्तीय अवस्थामाथि दबाब बढेको आईएमएफले जनाएको छ। यद्यपि पछिल्लो समय प्रविधिमा भएको लगानी र तुलनात्मक रूपमा सहज वित्तीय अवस्थाले केही हदसम्म सन्तुलन कायम राखेको पनि प्रतिवेदनमा उल्लेख छ।

आईएमएफले सन् २०२६ मा विश्व मुद्रास्फीति ४.४ प्रतिशत रहने र सन् २०२७ मा घटेर ३.७ प्रतिशतमा झर्ने अनुमान गरेको छ।

पश्चिम एसियाको द्वन्द्वको असर एसिया क्षेत्रका उदीयमान तथा विकासशील अर्थतन्त्रमा समेत देखिएको छ। विशेषगरी छिमेकी मुलुक भारत र चीनको आर्थिक वृद्धिदर पनि सन् २०२५ को तुलनामा सन् २०२६ मा घट्ने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया