शीर्षकहरू

पूँजीबजार सुधार र कर नीति स्थिर बनाइने, विदेशी संस्थागत लगानी भित्र्याउने सरकारको प्रतिबद्धता

पूँजीबजार सुधार र कर नीति स्थिर बनाइने, विदेशी संस्थागत लगानी भित्र्याउने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले पूँजीबजारलाई थप आकर्षक, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित विदेशी संस्थागत लगानीकर्तालाई आकर्षित गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको हो।

यसअघि सय बुँदे कार्ययोजना सार्वजनिक गर्ने क्रममा राजनीतिक दलका घोषणापत्रमा समेटिएका विषयहरूलाई आधार बनाएर राष्ट्रिय प्रतिबद्धतापत्र ल्याउने घोषणा गरिएको थियो। सोही अनुसार सरकारले उक्त मस्यौदा सार्वजनिक गर्दै नीति तथा कार्यक्रमलाई संस्थागत गर्ने तयारी गरेको जनाएको छ।

मस्यौदामा पूँजीबजार सुधारलाई प्राथमिकतामा राखिएको छ। बजारलाई पारदर्शी, सुरक्षित र विश्वासयोग्य बनाउन नियामकीय सुधार गरिने, प्रविधिमैत्री कारोबार प्रणाली विकास गरिने तथा लगानीकर्ता संरक्षणका संयन्त्रहरूलाई सुदृढ बनाइने उल्लेख छ।

सरकारले विशेष गरी साना लगानीकर्तासँगै स्वदेशी र विदेशी संस्थागत लगानीकर्ताको सहभागिता बढाउने नीति अघि सारेको छ। पूँजीबजारमा दीर्घकालीन र स्थिर लगानी भित्र्याउन संस्थागत लगानीकर्ताको विस्तार, प्रोत्साहन र सहजीकरणमा जोड दिइने बताइएको छ।

त्यसैगरी, लगानीकर्ताको हित संरक्षणलाई केन्द्रमा राख्दै लगानी सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। बजारप्रति विश्वास अभिवृद्धि गर्न नीतिगत स्थिरता अपरिहार्य हुने निष्कर्षसहित कर नीतिलाई स्थिर र लगानीमैत्री बनाइने स्पष्ट उल्लेख गरिएको छ।

सरकारले प्रस्तुत गरेको मस्यौदामा पूँजीबजारको समग्र विकासलाई आर्थिक वृद्धिसँग जोड्दै दीर्घकालीन लगानी वातावरण निर्माण गर्ने लक्ष्य राखिएको छ। सरोकारवालाबाट प्राप्त सुझावका आधारमा प्रतिबद्धतापत्र परिमार्जन गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ।

प्रतिक्रिया