शीर्षकहरू

५० हजारबाट व्यवसाय सुरु गरेकी थिइन्, अहिले छिन् एक करोडकी मालिक

५० हजारबाट व्यवसाय सुरु गरेकी थिइन्, अहिले छिन् एक करोडकी मालिक

काठमाडौं । मोरङकी जानुका थापा नेपाल मौरीपालन केन्द्रीय सहकारी संघकी अध्यक्ष हुन् । उनले ६३ सालमा सहकारीका रुपमा मौरी पालन व्यवसाय सुरु गरेकी थिइन् । ०६४ पछि व्यक्तिगत रुपमै मौरी पालनमा लागिन् । त्यसबेला उनले जम्मा ५० हजारको लागतमा व्यवसाय सुरु गरेकी थिइन् । अहिले उक्त पूँजी एक करोडभन्दा माथि पुगेको छ ।

थापाले ५ घार मौरीबाट मौरीपालन व्यावसाय सुरुवात गरेकी थिइन् । त्यसपछि सहकारीको सदस्य बनिन् । सहकारीबाट पाएको प्रेरणाकै कारण व्यक्तिगत फर्म खोलेको उनी बताउँछिन् । हाल उनीसँग ८०/९० गोला मौरी छन् । जहाँबाट वार्षिक मह उत्पादन मात्रै १२ देखि १५  क्विन्टल हुने उनी बताउँछिन् ।

हाल उनको काठमाडौंस्थित नयाँबानेश्वरमा अफिस छ । त्यहीँबाट मह बेच्छिन् । काठमाडौं मात्रै नभएर  विराटनगर , इटरी , धरानलगायत नेपालका विभिन्न ठाउँमा उनले उत्पादन गरेको मह पुग्छ ।

 उनको मौरी फर्ममा ७ जना कामदारहरू ज्यालादारीमा काम गर्छन् भने २ जना मासिक कामदारका रुपमा कार्यरत रहेका छन् ।

 यसरी सानो लगानीलाई मेहनत गरेर ठुलो व्यवसायका रुपमा स्थापित गर्दा समेत उनको व्यवसायलाई जोखिम भने कायमै छ । त्यो हो, बजारको समस्या । विदेशी महले बजारमा राम्रो स्थान पाउँदा आफ्नो उत्कृष्ट गुणस्तरको महको बजार न्यून रहेको उनी गुनासो गर्छिन्। बजारीकरणको अभावका कारण किसानहरूको मह मै थन्किएको उनले बताइन् ।

मौरी किसानहरूलाई धेरै चुनौतीहरू आइरहेको थापाको बुझाइ रहेको छ । केन्द्रीय सहकारी संघका किसानहरू लगायत सातै वटा प्रदेशका किसानहरूलाई एउटा साझा चुनौतीका रुपमा पूर्ण चरन क्षेत्रको अभाव समेत रहेको उनले जानकारी दिइन् ।

उनको सरकारसँग माग छ, “भारतबाट महाका नाममा आयात हुने गरेको सिरपलाई रोक्नु पर्‍यो, किसानलाई अनुदान चाहिँदैन सहुलियतपूर्ण ऋण दिनुपर्‍यो ।“ त्यति भए किसानले मह उत्पादन गर्ने थिए । उत्पादित महको बजारीकरणमा सरकारले साथ दिए पुग्छ ।

हुन पनि मौरी पालन त्यस्तो व्यवसाय हो जुन भूमिहीन किसानले समेत गर्न सक्छन् । यसमा बन जङ्गल र अन्य किसानको बारी नै चरन क्षेत्रका रुपमा उपभोग गर्न सकिन्छ । थापा भन्छिन् , ‘वैदेशिक रोजगारमा गएका युवायुवती पनि फर्किएर आएर हौसलाका साथ व्यवसायमा लाग्नु भएको छ ।’

तर, सरकारले मौरी व्यवसायिहरुलाई हेर्ने दृष्टि चाहिँ अलि फराकिलो पार्नु आवश्यक छ । घार बनाउनलाई धेरै कठिनाइ परेको बेलामा काठ, मुढाहरू, जङ्गल, सामुदायिक वनबाट निकालेर प्रयोग गर्न दिँदा उचित हुन्थ्यो भन्ने किसानहरूको माग प्रति सरकारले व्यस्तता गरेको देखिन्छ ।

त्यसबाहेक चरन सम्बन्धी धेरै समस्या रहेको छ । चरनको लागि धेरै टाढा गाडीमा राखेर लैजाँदा प्रहरी/प्रशासनले २/३ घण्टा गाडी रोकेर खनतलास गर्दा मौरी मर्न सक्ने सम्भावना रहन्छ । मौरीलाई एउटा एम्बुलेन्स जस्तो चरनमा लैजाँदा नरोकीकन जाने प्रावधान बनाइ दिए राम्रो हुने उनको भनाई छ ।

डढेलो लाग्दा चरनमा राखेका किसानका धेरै मौरीहरू नष्ट भएको उनले बताइन । त्यसमा पनि सरकारले राहत दिनुपर्ने उनी माग गर्छिन् । अनिवार्य बीमा गर्नुपर्छ भनेर मौरी किसानहरूलाई सरकारले १०० प्रतिशत नभएर ८० प्रतिशत चाहिँ सरकार पक्षबाट गरेर किसान पक्षबाट २० प्रतिशत गरेर बिमा गराइदिए राहत हुन्थ्यो भन्ने थापाको माग रहेको छ ।

जे होस्, सरकारसँगको आस स्वाभाविक छ । माग उचित छन् तर ती पुरा नभएपनि व्यवसाय भने बिस्तार भइरहेको छ थापाको । जम्मा ५० हजार रुपैयाँको लगानीमा चार वटा घारबाट थालेको उनको व्यवसाय अहिले करोडौँको छ । विभिन्न मान, पदवी र पुरस्कारबाट पुरस्कृत छिन् उनी । देशभर कै मौरी पालकको अभिभावक बनेकी छिन् । समग्रमा उनका कुरा मह जस्तै मिठा छन् ।