शीर्षकहरू

इन्जिनियर छोडेर व्यवसाय रोजेका जंगीर

इन्जिनियर छोडेर व्यवसाय रोजेका जंगीर

भारतमा जन्मिएका रौनक जंगीर भर्खर २३ वर्षका भए । सफ्टवेयर इन्जिनियरिङ पढेका जंगीर अहिले कस्मेटिक पसल सञ्चालन गर्छन् । ‘सफ्टवेयर इन्जिनियरिङ पढे । पढाइपछि मलाइ यहि क्षेत्रमा जागिर गर्न खासै मन लागेन । अनि नेपाल आएर यो व्यवसायमा लागे’, उनले भने । 

काठमाडौंको इन्द्रचोकमा रहेको साई शृङ्गार पसल सञ्चालन गरिरहेका जंगीर सफ्टवेयर इन्जिनियर हुन् । भारतको राजस्थान घर भएका उनी पछिल्लो केही वर्ष यता नेपालमै व्यापार गरिरहेका छन् । 

भारतमै उनले सफ्टवेयर इन्जिनियर पढे । पढाइ सकेपछि उनलाई इन्जिनियरको जागिर खोज्नतिर मन गएन । उनी नेपाल आएर र आफ्नो बुवा सुशील कुमार जंगीरले लामो समयदेखि चलाइरहेको पसल सम्हाले । 

इन्जिनियर पढेर पनि किन व्यवसायमा लाग्नु भयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘जागिर भन्दा व्यापार ठिक छ ।’ 

जंगीरको पसलमा विभिन्न रङका चुराहरू, टिका, नङ पालिस लगायतका । श्रृगारका सामानहरू राखिएका छन् । आर्थिक मन्दीले धेरैले व्यापार व्यवसाय नभएको  गुनासो गरिरहँदा रौनकलाई भने आर्थिक मन्दीको बाछिटाले समेत नभेटेको बताउँछन् । 

रौनकको पसलमा ग्राहकको बाक्लो चहलपहल थियो । यो व्यापारबाट उनी सन्तुष्ट रहेको सुनाउँछन् । ‘हाम्रोमा व्यापार राम्रो छ । आर्थिक मन्दीले असर गरेको छैन । म यो कामबाट सन्तुष्ट छु’, उनले भने ।  

नेपालमा कस्मेटिक सामानहरूको राम्रो व्यापार रहेको उनको अनुभव छ । रौनकको जन्म घर राजस्थान भए पनि कर्म घर भने नेपाल नै बनिसकेको छ । उनी उनको परिवारसहित नेपालमै बसेर व्यापार गरिरहेका छन् । 

विशेषगरि साउन महिनामा हरियो, पहेँलो रङ्गको चुरा पोते, नङ पालिसहरू बिक्री हुने हुँदा त्यस्ता ग्राहकहरूको बाक्लो उपस्थिति थियो उनको पसलमा । साउनमा महिलाहरू हरियो चुरा, पहेँलो चुरा, हरिया, पहेँला टिका, हरिया पहेँला नङ पालिस लगाउने भएका कारण पनि जंगीरको साई शृङ्गार पसलमा ग्राहकहरूको भिड लागेको उनले सुनाए । 

उनको पसलको आकार हेर्दा सानो देखिएता पनि उनको पसलमा सबै किसिमका सामानहरू अटाइएको छन् । हरेक प्रकारका श्रृङगारका सामग्रीहरू उनको पसलमा राखिएका छन् ।  

‘अघि पछिको तुलनामा यो महिनामा धेरैजसो हरियो, पहेँलो चुरा, लगायत श्रृङगार सामग्री बिक्री हुन्छ । यो सिजनको बेला पनि हो । राम्रो व्यापार भइरहेको छ’, उनले भने । 

अनलाइन मार्फत हुने किनबेचका कारण व्यापारमा केही असर भने परेको उनले गुनासो गरे । जंगीरले भने, ‘मैले अनलाइन मार्फत बिक्री गर्ने गरेको छैन । धेरैले अनलाइन मार्फत बेचेको देखेको छु । अनलाइन मार्केटका कारण हामीलाई केही असर भने परेको छ ।’